काठमाडौं– संसदीय सुनुवाइ विशेष समितिले कार्यविधि तय गर्न तीन सदस्यीय उपसमिति गठन गरिएको छ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले कार्यविधि तय गर्नका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का योगेश भट्टराई र शिवकुमार मण्डल केवट तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी पुष्पा भुसाल रहेको ३ सदस्यीय उपसमिति गठन गरेको हो।
उपसमितिलाई बुधबार (भोलि)सम्म कार्यविधि तय गर्ने कार्यादेश दिइएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए। संवैधानिक परिषद्ले समितिको सचिवालयमा प्रधानन्यायाधिश नियुक्ति प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको छ। सोही पत्राचारलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि तय गर्न उपसमिति गठन गरिएको पनि जेष्ठ सदस्य कर्णले बताए।
समितिले सभापति चयन प्रक्रियामा ढिलाइ नगर्ने पनि स्पष्ट पारेको छ। जेष्ठ सदस्य कर्णका अनुसार नियमावलीमा गरिएको व्यवस्था अनसार सभापति चयन प्रक्रियालाई पनि तत्काल अघि बढाउने कार्यसूची तय गरिएको छ।
१५ सदस्यीय संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट अमृता थापामगर, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भिमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्।
त्यसैगरी राष्ट्रियसभाबाट समुन प्याकुरेल, नन्दा चपाईं र जीतेन्द्र देव समितिमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।