काठमाडौं– जुम्लामा अनसनरत डा गोविन्द केसीको स्थास्थ्य उपचारको उचित व्यवस्था र चिकित्सा शिक्षा विधेयक पुरानै रुपमा जारी गर्न माग गर्दै राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसदले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमाथि आज छलफल हुँदै छ।
राष्ट्रियसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। सांसद राधेश्याम अधिकारी प्रस्तावक र अनिता देवकोटा तथा रमेशजंग रायमाझी सर्मथक रहँदै कांग्रेसले सो प्रस्ताव दर्ता गराएको थियो। यसअघि सोमबार प्रतिनिधिसभामा पनि यसै विषयमा छलफल भएको थियो। गत शुक्रबार दुवै सदनमा नेपाली कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको थियो।
सरकारले चिकित्सा शिक्षा आयोग गठन सम्बन्धमा अध्यादेशलाई आफू खुसी संशोधन गर्दै प्रतिस्थापनको अध्यादेशको रुपमा ल्याएपछि डा केसी अनसनमा बसेका छन्। नेपाली कांग्रेसको सरकार हुदाँ केसीसँग गरिएको सहमतिका आधारमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले अध्यादेश जारी गरेको थियो।
संसद कायमै हुदाँ दलहरुका बीचमा सहमती हुन नसकेपछि सरकारले अध्यादेश मार्फत कानुन बनाउने प्रक्रिया अपनाएको थियो। तर नयाँ निर्वाचनपछि निर्माण भएको केपी शर्मा ओलीको सरकारले उक्त अध्यादेशलाई संशोधनसहित संसदमा प्रतिस्थापन विधेयक दर्ता गराएको थियो।
सरकारले संसदमा दर्ता गराएको विधेयकमा काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने, विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजलाई मात्र सम्वन्धन दिन पाउने जस्ता व्यवस्था संशोधन गरिएको छ। उक्त संशोधनले विगतमा गरेका सहमतिलाई तोडको भन्दै डा केसीले अनसन थालेका हुन्।
डा केसीको स्वास्थ्य अवस्था जटिल भएको भन्दै कांग्रेसले संसदमा सरकारको ध्यानाकर्षण गराउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदै शिक्षामन्त्रीको धारणा माग गरेको हो। प्रतिपक्षले प्रतिस्थापन विधेयक अघि बढाएमा संसद अवरोध गर्ने चेतावनीपछि सरकारले नयाँ विधेयक संसद सचिवालयमा दर्ता गराएको छ। उक्त विधेयकपनि संशोधन गरिएकै रुपमा दर्ता भएकाले पुरानै रुपमा आउनु पर्ने कांग्रेसको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।