काठमाडौं– सरकारले मुस्ताङको स्याङबोचेमा टिप्पर दुर्घटनामा परी मृत्यु भएकाहरुको परिवारलाई ५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ।
आजको संसद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले टिप्पर दुर्घटनामा परी मृत्यु भएकाहरुको परिवारलाई राहत स्वरुप ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन्।
गत शुक्रबार दिउँसो मुस्ताङको स्याङ्बोचेमा टिप्पर दुर्घटनामा परी सोही सडक खण्ड निर्माण कार्यमा संलग्न २० जना मजदुरको मृत्यु भएको थियो। प्रतिनिधिसभामा गृहमन्त्री थापाले घटनाबारे शोक व्यक्त गरेका थिए। उनले दुर्घटनामा परी घाइते भएका १२ जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको पनि जानकारी दिए।
दुर्घटनामा परी चालकसहित रोल्पाका ९, दाङका ६, धादिङका १, स्याङ्जाका १, ओखलढुंगाका १, कपिलबस्तुका १ र कैलालीका १ गरी २० जनाको मृत्यु भएको थियो।
त्यसैगरी गृहमन्त्री थापाले रोल्पाका ८ जनासहित १२ जना घाइते रहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।