काठमाडौं– संसदीय सुनुवाइ समितिले पूर्णता पाएको छ। प्रतिनिधिसभामा यसअघि नै पार्टीहरुले सिफारिस गरेका १२ जनको नाम सभामुख कृष्णबहादुर महराले संसदबाट आज घोषणा गरेसँगै समिति १५ सदस्यी बनेको हो।
यसअघिको प्रतिनिधिसभा बैठकमा सभामुखले नाम घोषणा गर्ने तयारी गरे पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अनसनरत डा गोविन्द केसीको जीवनरक्षा माग गर्दै दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुनुपर्ने माग गर्दै संसद अवरुद्ध गराएपछि रोकिएको थियो।
कांग्रेसको उक्त प्रस्ताव पनि आजको सम्भावित कार्यसूचीमा रहेकाले बैठक सुचारु हुँदै संसदीय समितिमा रहने सदस्यको टुंगो लाग्नेछ। राष्ट्रियसभाले भने गत शुक्रबार नै ३ सदस्यको टुंगो लगाएको थियो। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले नेपाल कम्युनिष्ट पार्टीबाट २ र नेपाली कांग्रेसबाट १ जनाको नाम चयन गरेका थिए।
संयुक्त सदनमा रहेका सुनुवाइ समिति १५ सदस्य हुने व्यवस्था संविधानमा उल्लेख छ। राष्ट्रियसभाबाट ३ सदस्य सहभागी हुने व्यवस्था नियमावलीमा छ।
प्रतिनिधिसभाले नाम तोकेपछि संसदिय सुनुवाइ समितिले काम सुरु गर्नेछ।
संसदीय सुनुवाइ समिति गठन नहुँदा सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नियुक्ति रोकिएको छ। संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम सिफारिस गरे पनि सुनुवाइ नहुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गर्न पाएकी छैनन्। लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजदूतहरुको नियुक्तिका लागि सहज हुनेछ।
राष्ट्रियसभाबाट छानिएका
सुमनराज प्याकुरेल, नेकपा
नन्दा चपाई, नेकपा
जितेन्द्रनारायण देव, कांग्रेस
प्रतिनिधिसभाबाट छानिएका
नेकपाबाट
योगेश भट्टराई
सुरेन्द्र पाण्डे
पूर्णकुमारी सुवेदी
अमृता थापा
निरुदेवी पाल
पार्वत गुरुङ
शिवकुमार मण्डल
नेपाली कांग्रेसबाट
पुष्पा भुसाल
ज्ञानेन्द्रबहादुर कार्की
भीमसेनदास प्रधानको
संघीय समाजवादी फोरमबाट
राजेन्द्र श्रेष्ठ
राजपाबाट
लक्ष्मणलाल कर्ण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।