काठमाडौं– प्रहरीमा प्रशासनतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)का सबै पद रिक्त रहँदा बढुवाका प्रतिस्पर्धी रहेका ५ जना प्रहरी नायब महानिरीक्षक(डिआइजी)हरुले बुधबारदेखि अनिवार्य अवकाश पाउने भएका छन्। आफुहरुलाई नियोजित रुपमा सरकारले बढुवा नदिई अवकाश दिन लागिएको उनीहरुले गुनासो गरेका छन्।
प्रहरीका रिक्त ३ एआइजी पदमा बढुवा लागि पवन खरेल, उत्तम कार्की, ज्ञानबिक्रम शाह, छविलाल जोशी र शरद चन्द पनि प्रतिस्पर्धामा थिए। ३० वर्षे सेवाहदका कारण उनीहरुले बिहीबारदेखि अवकाश पाउन लागेका हुन्। उनीहरु २०४५ साल असार २९ गते इन्सपेक्टर पदबाट प्रहरी सेवा सुरु गरेका अधिकृत हुन्।
उनीहरुले बढुवामा भएको ढिलाई बारे सामूहिक रुपमा प्रहरी महानिरीक्षकदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर आफुहरुको दुःखेसो राखेका थिए। ‘सबैलाई भेट्यौं सबैले आश्वासन दिए, तर,कसैले पीडा बुझेनन्,’ एक डिआइजी भन्छन्,‘ सरकारले नै सुनियोजित र अन्यायपूर्ण ढंगले बढुवा नगरी अवकाश दिने प्रपञ्च गरियो।’ प्रहरीमा गत चैतदेखि नै एआइजीका सबै पद रिक्त थिए।
अब उनीहरुको बढुवा हुने सम्भावना छैन। एक हप्ताको लागि अवधि राखेर बढुवा सिफारिस गर्नुपर्ने हुन्छ। उनीहरुको जागिर अवधि ४ दिनमात्र बाँकी रहेकाले बढुवा सम्भव नभएको हो। अवकाश हुन लागेकालाई बढुवा गर्दा राज्यलाई आर्थिक भार मात्र थपिने भएकाले उनीहरुलाई बढुवा नगरिएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन्।
उनीहरुसँग अन्य तीन डिआइजी र २ एसएसपीले बिहीबारदेखि अनिवार्य अवकाश पाउँदैछन्। डिआइजीहरु श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्मा तथा एसएसपीहरु मोहनराज जोशी र सुन तस्करी प्रकरणमा जेलमा रहेका श्याम खत्री पनि अवकाश पाउन लागेका हुन्।
उनीहरुको अवकाशपछि एआइजीका तीन पदको बढुवामा ५ डिआइजीबीच प्रतिस्पर्धा हुने भएको छ। जसमा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेशबिक्रम शाहबीच प्रतिस्पर्धा हुनेछ।
असारभित्र बढुवा प्रक्रिया सुरु हुन नसके असोजमा मात्र बढुवा हुने छ। नयाँ आर्थिक वर्ष सुरु भएपछि नयाँ कार्यसम्पादन मूल्याङकनका आधारमा बढुवा गर्नुपर्ने भएकाले बढुवा लम्बिने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।