काठमाडौं- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा सर्वोच्च अदालतले थुनामा राख्नु भनिएका प्रतिवादी छविलाल पौडेल अदालत उपस्थित भएका छन्।
६८ वर्षीय पौडेललाई सर्वोच्चले आइतबार डिल्लीबजार कारागार पठाएको छ।
२०७२ पुस ६ गते सर्वोच्चले पौडेललाई थुनामा राखी मुद्दा किनारा लगाउन फैसला सुनाएको थियो। उक्त फैसलाको तीन वर्षपछि पौडेल आफैं अदालतमा हाजिर भएका हुन्।
छोराको हत्यारालाई कारबाहीको माग गर्दै कृष्णप्रसादकी आमा गंगामाया अधिकारी लामो समयदेखि पटकपटक आमरण अनसनमा बस्दै आएकी छिन्। पछिल्लो पटक अनसनकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बनेपछि आइसियूमा राखेर उपचार भइरहेको छ।
सर्वोच्चले २०७२ पुस ६ गते धरौटीमा छाड्ने तत्कालीन पुनरावेदन अदालत हेटौंडाको आदेश उल्टाउँदै पौडेललाई पक्राउ गरी थुनामा राख्न भनेको थियो।
छोराको हत्यारालाई कानुनी कारबाही गर्न माग गर्दै पिता नन्दप्रसाद अधिकारीले अनसन सुरु गरेपछि २०७० साउनमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। नन्दप्रसादको अनसनकै क्रममा २०७१ असोज ६ मा मृत्यु भएको थियो।
द्वन्द्वकालमा चितवनको रत्ननगरस्थित मामाघर जाने क्रममा २०६१ जेठ २४ गते कृष्णप्रसादलाई तत्कालीन विद्रोही माओवादीले अपहरण गरी हत्या गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।