काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी निर्देशक (सिइओ) युवराज भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले काम गरेको अवधिका लागि धन्यवाद समेत नदिई पदबाट हटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरी भुसालले भने, ‘पदमा रहँदा मैले धेरै सुधारका काम गरें। तर अवकाश दिँदा चिठीमा उक्त कुरालाई सरकारले बेवास्ता गर्यो। धन्यवाद समेत दिएन।’
२०७४ कात्तिक ६ मा भुसाललाई शेरबहादुर देउवा सरकारले पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। प्रधानमन्त्री ओली सरकारले निर्वाचन आचारसंहिता लागू भएको २०७४ भदौ १४ पछि देउवा सरकारले गरेका नियुक्ति बदर गर्ने निर्णय गर्दा भुसाल पनि त्यसैमा परेका हुन्।
गत बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले देउवा सरकारले निर्वाचन आचारसंहिता लागूभएपछि गरेका सबै नियुक्ति बदर गर्ने निर्णय गरेको थियो।
नियुक्त भएको एक वर्ष नपुगी प्राधिकरणको चौथो सिइओका रुपमा कार्यरत भुसाललाई सरकारले बिहीबार अवकासको पत्र थमाएको थियो।
पत्रकार सम्मेलनमा भुसालले भूकम्प पीडितलाई २ प्रतिशत ब्याजमा रकम र सहुलियत ऋण उपलब्ध गराउने व्यवस्था गर्न नसकेकोप्रति पछुतो लागेको बताए।
२०७२ वैशाखमा गएको भूकम्पले भत्काएका संरचनाको पुनःनिर्माणका लागि प्राधिकरण गठन भएको थियो। प्राधिकरणमा हालसम्म चार जना सिइओ फेरिएका छन्। प्राधिकरणमा सरकार परिर्वतनसँगै नेतृत्व परिर्वतन हुँदै आएको छ।
भुसालले आफू नेतृत्वमा आएपछि प्राधिकरणले १४ बुँदे प्रगति हासिल गरेको दाबी गरेका छन्। अनुदान सम्झौता सहज रुपमा गराउनेदेखि जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र सम्पदा पुनःनिर्माण शुरु भएको भुसालको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।