काठमाडौँ- नेपाल र भारतले संयुक्त रुपमा रामायण तथा बुद्ध परिपथमा पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध प्रयास गर्ने भएका छन्। दुई देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ धार्मिक पर्यटनलाई प्रमुख प्राथमिकतामा राखिएको हो।
पर्यटन क्षेत्रको सूचना, भौतिक पूर्वाधारको विकास तथा सडक विस्तारमा सहकार्य गर्दै दुवै देशका धेरै नागरिकको आस्थासँग जोडिएको क्षेत्रमा पर्यटनसँग सम्बन्धित कार्यक्रम गतिविधि अगाडि बढाउन लागिएको हो। दुई देशबीच गठित संयुक्त कार्यदलको शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार दुई देशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी १४ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ।
गत बैसाख २८ र २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण परिपथको महत्वबारे प्रकाश पारेका थिए। संयुक्त रुपमा प्रधानमन्त्रीद्वयले रामायण परिपथको बस सेवासमेत सञ्चालनको शुभारम्भ गरेका थिए।
रामायणकालीन धार्मिकस्थललाई जोड्ने सडक अवधारणालाई रामायण परिपथ नाम दिइएको छ। त्यसमा भारतले आफ्ना १५ धार्मिकस्थललाई जोड्न तयार पारेको ‘रामायण परिपथमा नेपालको जनकपुर पनि समेटिएको छ।
रामायण सर्किटमा त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिकस्थललाई एउटै मार्गले जोडिनेछ। त्यसमा नेपालको जनकपुर भारतको अयोध्या, शृंगवेरपुर, चित्रकुट, विहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगनाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुर रहेका छन्। सो परिपथमा सीताको माइती तथा रामको ससुराली जनकपुरधामलाई समेत अब जोडिएकाले नेपालका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ। हाल श्रीलंकालाई यो सर्किटमा नजोडिए पनि जोड्ने तयारी भइरहेको भारत सरकारले जनाएको छ। रामायण सर्किटले जनकपुरको पर्यटन प्रवर्द्धन हुने विश्वास गरिएको छ।
यस्तै बुद्ध परिपथमा नेपालतर्फ लुम्बिनीलाई केन्द्रमा राखेर तिलौराकोट, रामग्राम, गोटीहवा, निग्लीहवा, नमोबुद्ध, हलेसी, बौद्धनाथ, स्वयम्भू आदि क्षेत्र समावेश हुनेछ। भारतले बोधगयालाई केन्द्रमा राखेर सारनाथ, कुसीनगर, श्रावस्ती लगायतका स्थानलाई जोडेर करिब ७ सय किलोमिटरको क्षेत्रमा बुद्ध परिपथ सञ्चालन गरिरहेको छ। दुई देशको सहमतिपछि दुवै देशको परिपथ एक आपसमा जोडिनेछ।
दुई देशबीच भएको सहमतिअनुसार पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन लक्ष्यका साथ योजनाबद्ध तवरले अगाडि बढ्ने उल्लेख छ। सहमतिअनुसार नेपाल सरकारको मागअनुरुप भारतीय पक्षले भारतका सरकारी कर्मचारीलाई उपलब्ध गराउने विशेष सुविधामा नेपालका पर्यटकीय क्षेत्रको भ्रमणलाई भ्रमण प्याकेजमा राख्ने सहमति जनाएका छन्। त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भारतीय पक्षले सम्बन्धित मन्त्रालयलाई आग्रह गर्ने भएको छ।
नेपाल आउने भारतीय सवारी साधनले प्राप्त गर्ने सुविधासरह भारततर्फ जाने नेपाली सवारी साधनले पनि सहज अनुमति प्राप्त गर्ने विषय सहमतिपत्रमा समेटिएको छ। अनुमतिका लागि भारतीय पक्षले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिएको छ। दुई देशबीच विभिन्न नाका जोड्ने सडक तथा पुलको निर्माण कार्यमा शीघ्रता ल्याउने, दुई देशका निजी क्षेत्रले संयुक्त रुपमा रामायण सर्किट, बुद्धिष्ट सर्किट र साहसिक पर्यटनको प्रवर्द्धन र बजारीकरण गर्ने निर्णय भएको छ।
नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि जनकपुरमा मिथिला संग्रहालय स्थापना गर्न भारतीय पक्षले सहयोग गर्नेछ।
नेपालको मागअनुरुप भारतीय हिमाल आरोहण गर्ने नेपाली नागरिकलाई सहजरुपमा आरोहण प्रमाणपत्र उपलब्ध गराउनेछ।
नेपालमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने कार्य अघि बढिरहेको सन्दर्भमा दुई देशबीच गुणस्तरीय पर्यटन जनशक्ति विकासका लागि शैक्षिक कार्यक्रम एवं विद्यार्थीका लागि प्रयोगात्मक कक्षाका लागि आपसी सहयोग आदानप्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ। दुई देशबीच पर्यटनको सम्भाव्यता, प्रवद्र्धन र बजारीकरणमा सहकार्यका विभिन्न कार्य अगाडि बढाउन दुवै देशका निजी क्षेत्रको सहभागितामा इन्डो नेपाल टुरिजम फोरम गठन गरिने भएको छ।
बैठकमा नेपाल पक्षले बुद्ध दर्शनसँग सम्बन्धित प्रर्वद्धनात्मकद्वार सुनौली–बेलहियास्थित नेपाल–भारत सिमानामा संयुक्तरुपमा निर्माण गर्ने प्रस्तावसमेत राखेको थियो।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको अवस्थामा नेपालको प्रमुख पर्यटन स्रोत बजारका रुपमा रहेको भारतसँग भएको उक्त सहमतिले सरकारी तथा निजीस्तरमा पर्यटन प्रवर्द्धन गरी गुणस्तरीय पर्यटन आगमनमा योगदान पुग्ने अपेक्षा मन्त्रालयले गरेको छ।
दुई देशबीच सन् २०१४ नोभेम्बर २५ मा पर्यटन क्षेत्रमा विविध सहयोग आदानप्रदान गर्ने एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही समझदारीअनुसार दुई देशबीच गठित संयुक्त कार्यदलको बैठक यसअघि १९ फ्रेब्रुअरी २०१५ मा भएको थियो।
बैठकमा लुम्बिनी र भारतका विभिन्न सहरबीच हवाई सम्पर्क विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले नेपालमा गुणस्तरीय पर्यटन भित्र्याउन दुई देशको संयुक्त कार्यदलको बैठक महत्वपूर्ण भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।