भैरहवा– बजेट सक्न आर्थिक वर्षको अन्तिममा आएर काम गर्ने प्रवृत्तिले रुपन्देहीमा यस वर्ष पनि निरन्तरता पाएको छ।
वर्षाद्मा हतारोमा गरिने विकास–निर्माणका काम गुणस्तरीय नहुने भन्दै चौतर्फी आलोचना हुने गरे पनि यही समय पारेर धमाधम पैसा खन्याउने परिपाटी नरोकिएको तथ्यांकले देखाएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीको तथ्यांक अनुसार असार महिनाको २२ दिनमा मात्र करिब २२ करोड पुँजीगत बजेट खर्च गरिएको छ।
कार्यालयकी सूचना अधिकृत मञ्जु पन्थीले असार २२ गते बिहान १२ बजेसम्म विभिन्न आयोजना तथा कार्यालयहरुलाई २१ करोड ७२ लाख २५ हजार ५ सय ९४ रुपैयाँ भुक्तानी दिइएको जानकारी दिइन्। यो खर्च डिभिजन सडक कार्यालय बुटवल बाहेकको हो।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रुपन्देहीले आफ्नो कुल पुँजीगत बजेट १ अर्ब ९७ करोड ३७ लाख ९९ हजारमध्ये असार महिनाको २२ दिनमा मात्र ४ करोड ९३ लाख २९ हजार ७५ रुपैयाँ खर्च गरेको छ। त्यस्तै, व्यापारिक मार्ग विस्तार आयोजना (बेलहिया–बुटवल सडक)ले ६८ करोड ७१ लाख ५० हजारमध्ये २२ दिनमा ३ करोड ३८ लाख २६ हजार ५ सय ६३ रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ।
२२ दिनमा कुन कार्यालयको कति पुँजीगत खर्च?




- भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालय – २ करोड ९० लाख २५ हजार ८ सय ९९ (१० करोड ५८ लाख ९९ हजारमध्ये)
- खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देही – १ करोड ३५ लाख ८० हजार १ सय ७४ रुपैयाँ (२२ करोड ४० लाख ५८ हजारमध्ये)
- पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन नम्बर ६ – १ करोड ३६ लाख ९९ हजार ५ सय ४३ (१८ करोड ६६ लाख ३२ हजारमध्ये)
- जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय डिभिजन नम्बर ५ – १ करोड १६ लाख ३६ हजार ६ सय १४ (१० करोड ३४ लाख ७९ हजारमध्ये)
- लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक योजना – ९१ लाख ६४ हजार १ सय ४१ (३५ करोड ३९ लाख ५१ हजारमध्ये)
- किसानको लागि उन्नत बिउबिजन कार्यक्रम कार्यान्वयन इकाई – ६६ लाख ७१ हजार १ सय ३७ (११ करोड ९३ लाख ७५ हजारमध्ये )
- मध्यपश्चिम पृतना हेडक्वाटर योगीकुटी बुटवल – ३० लाख ९० हजार (३९ लाख ४० हजारमध्ये)
- जिल्ला प्राविधिक कार्यालय रुपन्देही – २० लाख ४९ हजार ४२ (८ करोड २७ लाखमध्ये)
- जिल्ला समन्वय समितिको कार्यालय – १५ लाख ८५ हजार ७ सय ३ रुपैयाँ (२० करोड ८४ लाख ९६ हजारमध्ये)
- जबरजंग गण – १९ लाख रुपैयाँ (सबै खर्च)
- २ नम्बर तालिम गण – १४ लाख ७२ हजार ७८ (४५ लाखमध्ये )
- नेपाली सैनिक ब्याट स्कुल – १४ लाख ९९ हजार ९ सय ५७ (५ करोड ५२ लाख ५ हजारमध्ये )
- बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाई – १३ लाख १९ हजार २ सय ९० (८ करोड २० लाख ९६ हजारमध्ये)
कोलेनिकाकी सूचना अधिकृत पन्थीका अनुसार, रुपन्देहीमा ६ अर्ब ८८ करोड ४८ लाख ११ हजार ३ सय रुपैयाँ कुल पुँजीगत बजेटमध्ये असार २२ गतेसम्म ४ अर्ब ५८ करोड २७ लाख ८ सय ३७ रुपैयाँ खर्च भएको छ। यो पुँजीगत बजेटको ६७ प्रतिशत हो। गत आर्थिक वर्ष २०७४/०७५ मा ८ अर्ब ४१ करोड ९९ लाख कुल पुँजीगत बजेटमध्ये ६ अर्ब रुपैयाँ खर्च (८० प्रतिशत) भएको थियो। यस वर्षको खर्च सन्तोषजनक रहेको र असार मसान्तसम्म ८० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको उनले बताइन्।
उता सरोकारवालाहरु भने असारमा पैसा खन्याएर विकास गर्ने परिपाटी गलत रहेको बताउँछन्। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ का व्यवसायी तुल्सी भट्टराईले असारमा काम गर्ने परिपाटी गलत रहेको बताउँदै आर्थिक वर्ष असार ३० गते सकिने परम्परालाई सारेर चैत मसान्तमा सार्नुपर्ने सुझाव दिए।
‘असार महिनामा गरिने काम गुणस्तरीय हुँदैन, राज्यको अर्बौं रकम खेर मात्र जान्छ’, उनले भने।
उनले असारे विकास गुणस्तरहीन हुनुका साथै भ्रष्टाचार हुने भएकाले यतिबेला भएका कामको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए।
सार्वजनिक सरोकारको विषयमा पहल गदै आएको भैरहवा मर्निङ वाक ग्रुपका संस्थापक अध्यक्ष विजयसागर श्रेष्ठले आर्थिक चलखेलका कारण असारमा सबैभन्दा बढी विकासे काम गरी खर्च हुने गरेको टिप्पणी गरे। उनले गलत सरकारी नीतिका कारण यस्तो अवस्था आएको भन्दै सरकारी नीति सुधारमा समेत जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।