फलेवास, पर्वत- मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई-१७ हेलिकोप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका ५ शव पोखरा पठाइएको हो।
दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार रात परेपछि १५ शव घटनास्थलमा नै छाड्नुपरेको थियो।
दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई शुक्रबार साँझ नै सेनाको एमआई १७ र एयर डाइनास्टिकको विमानबाट उपचारका लागि पोखरा लगिएको थियो। दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको भने जिल्ला अस्पताल मुस्ताङमा नै उपचार भइरहेको छ।
दुर्घटनामा परी मृत्यु भएका र घाइते कोही पनि मुस्ताङका नभएका कारण जिल्ला सुरक्षा समिति मुस्ताङले सबै घाइते र शव पोखरा लाने निर्णय गरेको थियो। बेनी–जोमसोम– कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३ स्थित स्याङ्बोचेमा कालीगण्डकी करिडोर निर्माणमा काम गरिरहेका कामदार बोकेको बा२क २२१९ नंको टिपर शुक्रबार अपराह्न २ बजे दुर्घटना भएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।