रत्ननगर, चितवन- पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन्।
सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिए पनि फरार हुँदै आएका कालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र शुक्रबारै कारागार चलान गरिएको हो। जिल्ला अदालतले रु २ लाख ५० हजार धरौटी माग गरेकामा बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए।
डल्लाकोटीसहितको एक समूहले गत बैसाख १७ गते त्यहाँका किसानको बगानमै पसेर केरा फँडानी गर्दा ३ हजार ९४ बोट केरा काटेको पाइएको थियो। उनीहरुले १२ किसानको रु १५ लाखभन्दा बढीको केरा फाँडेर नष्ट गरेका थिए।
सोही मुद्दामा यसअघि पक्राउ परेका अन्य ५ जनालाई पनि अदालतले रु २ लाख ५० हजार धरौटी माग गरेकामा बुझाउन नसक्दा कारागार चलान भएको आचार्यले बताए। अझै उक्त मुद्दामा एक जना फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।