काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले देशभरका सबै विद्यालय भवनहरु भूकम्प प्रतिरोधि भए-नभएको विस्तृत अध्ययन गर्ने योजना अघि सारेको छ।
भूकम्पले क्षति पुर्याएका विद्यालयहरुको पुनःनिर्माणले गति लिन नसकिरहेका बेला प्राधिकरणले देशभरका सबै विद्यालय भवन भूकम्प प्रतिरोधि भए-नभएको विस्तृत अध्ययन गर्ने योजना अघि सारेको हो। आगामी दिनमा हुने भूकम्पीय जोखिमबाट विद्यालय भवनलाई जोगाउन देशभरका सबै विद्यालय भवनको विस्तृत अध्ययन गर्ने प्रस्ताव अघि सारिएको प्राधिकरणका केन्द्रीय आयोजना कार्यान्वयन शिक्षा इकाइका आयोजना निर्देशक इमनारायण श्रेष्ठले जानकारी दिए।
विश्व बैंकको सहयोगमा सञ्चालन हुने यो योजना तत्काल ६३ जिल्लामा सञ्चालन गर्ने प्राधिकरणको योजना छ।
प्राधिकरणले हालसम्म ६ हजार विद्यालय भवन पुनःनिर्माणको काम सम्पन्न गरेको पनि जनाएको छ। आयोजना निर्देशक श्रेष्ठले जग्गा उपलब्ध नभएका कारण पनि कतिपय स्थानमा विद्यालय भवन पुनःनिर्माणको काम अघि बढाउन नसकिएको पनि स्पष्ट पारे। प्राधिकरणले जनशक्तिको अभावमा पनि विद्यालय पुनःनिर्माणको कामले तीव्रता पाउन नसकेको दावी गर्दै आएको छ।
प्राधिकरणले विद्यालय भवन निर्माणमा ढिलाइ भए निकासा गरिएको बजेट फिर्ता लिने चेतावनी पनि दिएको छ। बजेट विनियोजन भएर पनि विद्यालय भवन पुनःनिर्माणको काममा केही ठाउँमा ढिलाइ हुने देखिएपछि प्राधिकरणले त्यस्ता विद्यालय भवन निर्माणका लागि निकासा गरिएको बजेट फिर्ता लिने तयारी गरेको पनि आयोजना निर्देशक श्रेष्ठले बताए। प्राधिकरणले दरबार हाइस्कुलको पुनःनिर्माणको काम जनशक्तिको अभावमा ढिलाइ हुन गएको दावी गरे।
प्राधिकरणले भूकम्पले क्षति पुर्याएका ३२ हजार १ सय ६१ वटा विद्यालय भवनहरुको पुनःनिर्माणको कामलाई सम्पन्न गर्नुपर्नेछ। आयोजना निर्देशक श्रेष्ठले विद्यालय भवन पुनःनिर्माणको काम चुनौतिपूर्ण भएपनि त्यसलाई गति दिन सक्दो प्रयास भइरहेको दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।