काठमाडौं– संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाबाट तीन जनाको नाम सिफारिस भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले नेपाल कम्युनिष्ट पार्टी (ने क पा) बाट २ र नेपाली कांग्रेसबाट १ जनाको नाम चयन गरेका हुन्।
संयुक्त सदनमा रहेका सुनुवाइ समितिमा राष्ट्रियसभाबाट ३ सदस्य सहभागी हुने व्यवस्था नियमावलीमा छ। संयुक्त समितिमा रहेका संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभामा ने क पाबाट सुमनराज प्याकुरेल, नन्दा चपाईं र काग्रेसबाट जितेन्द्र नारायण देवको नाम चयन भएको हो।
समितिमा १५ जना सदस्य रहने संविधानमा उल्लेख छ। संविधानको उक्त व्यवस्था अनुसार नियमावलीले प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट ३ जना सदस्य हुन्छन्।
प्रतिनिधिसभाले पनि आजै समितिमा रहने सदस्यको नामवली मनोनय गर्ने तयारी छ। प्रतिनिधिसभाले नाम तोकेपछि संसदिय सुनुवाइ समितिले काम सुरु गर्नेछ।
संसदीय सुनुवाइ समिति गठन नहुँदा सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नियुक्ति रोकिएको छ। संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम सिफारिस गरे पनि सुनुवाइ नहुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गर्न पाएकी छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।