काठमाडौं– नेपाल पुनर्निर्माण प्राधिकरणको कार्यकारी निर्देशकको बैठकका लागि कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाल आज बिहानै बालुवाटार पुगे। यसअघि नै तय भएको कार्यक्रममा भाग लिन उनी प्रधानमन्त्री निवास पुग्दा पो थाहा पाए, आफ्नो जागिर त राति नै चट् भएको रहेछ।
बुधबार राति मन्त्रिपरिषद् बैठकले शेरबहादुर देउवा सरकारले निर्वाचन आचारसंहित लागू भएपछि भएका सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। भुसाल प्राधिकरणको सिइओमा २०७४ कात्तिक ६ गते नियुक्त भएका थिए। रातिको निर्णयसँगै भुसालको राजनीतिक नियुक्ति पनि बदर भएको छ।
राजनीतिक नियुक्ति खारेजी भएको जानकारी पाए पनि आफूलाई जानकारी नभएपछि उनी बैठकका लागि बालुवाटार पुगेका थिए। यो खारेजीसँगै २४ गते निर्देशक समिति बैठक पनि अन्योलमा परेको छ।
प्राधिकरणको दुवै समिति प्रधानमन्त्रीको अध्यक्षतामा सञ्चालन हुने गर्दछ। उक्त समितिमा विपक्षी दलका नेता र सम्बन्धित मन्त्रालयका मन्त्री पनि सदस्य हुन्छन्।
प्राधिकरणमा अब पाँचौ सिइओ नियुक्त हुने भएको छ। यसअघि भुसालसँगै गोविन्द पोखरेल, सुशील ज्ञवाली, गोविन्द पोखरेल सिइओ भइसकेका छन्।
२०७२ बैसाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पनले क्षतिको बारेमा अध्ययन गर्न र पीडितलाई क्षतिपूर्ति दिलाउने गरी सरकारले प्राधिकरण गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।