काठमाडौं- विश्वमा अनुमानित ८० करोड मानिस आप्रवासनमा रहेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को एक अध्ययनले जनाएको छ। तीमध्ये ७ जनामा एक व्यक्ति आप्रवासनबाट प्रत्यक्ष लाभन्वित भइरहेका छन्।
आप्रवासनमा रहेका व्यक्तिको कमाइबाट वार्षिक ६ खर्ब १३ अर्ब अमेरिकी डलर विप्रेषण जम्मा हुने गरेको आइओएमको अध्ययनले जनाएको छ। जसमा ४ खर्ब ६६ अर्ब डलर विप्रेषण विकासशील राष्ट्रमा पठाइने गरिएको तथ्यांक आइओएमले सार्वजानिक गरेको छ।
आप्रवासनले आर्थिक, शैक्षिक र सामाजिक क्षेत्रमा ठूलो प्रभाव देखा पर्दै गएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) नेपालका प्रमुख पावल आइ नोर्टनले बताए। 'आप्रवासन विश्वमा समस्याका रुपमा देखापरिरहेको छ। यो समस्या विश्वका सबै देशको साझा समस्या भएकाले सबै मिलेर समाधान गर्नुपर्छ,' उनले भने, 'आप्रवासन क्षेत्रको समस्या समयमा समाधान गर्न ध्यान नदिए अझै जटिल बन्दै जान्छ।’ आप्रवासनका कारण विकासशील देशमा सामाजिक द्वन्द्व उत्पन्न हुने खतरा बढ्दै गएको उनको भनाइ छ।
नेपालले आप्रवासन रोक्न केही आन्तरिक रोजगारीका रणनीति बनाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताएका छन्। नेपालमा रोजगारीका अवसर सिर्जना नहुँदा आप्रवासन बढिरहेको सहसचिव घिमिरेले बताए।
'नेपाल सरकारले आगामी ५ वर्षभित्र बाध्यताकारी आप्रवासन रोक्न प्रयासका साथ काम गरिरहेको छ,' उनले भने, 'आप्रवासनका कारण नेपालको युवाशक्ति दैनिक विदेशिइरहेका छन्।
विकासशील देशहरुले आप्रवासनबाट भित्रिने आर्थिक फाइदाको पाटो मात्र हेर्ने गरेकाले त्यसका बेफाइदा बारेमा जानकार नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवाली बताउँछन्।
पूर्वी एसियाका देशबाट रोजगारीको खोजीमा विदेशिने श्रमिकले धेरै दु:खकष्ट भोगिरहेको आएओएमले औंल्याएको छ।
मध्यपूर्वमा पुगेका युवा श्रमशोषणमा
नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, इन्डोनेसिया र थाइल्याडबाट रोजगारीका खोजीमा मध्यपूर्वका देश पुगेका धेरै युवा श्रम शोषणमा परिरहेको अध्ययनमा जनाइएको छ। यी देशबाट रोजगारीमा मध्यपूर्वका देश पुगेका कामदारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिश्रमिक पाउँदैनन्।
आप्रवासन र रोजगारीका नाममा धेरै महिला मानव तस्कर तथा शारीरिक शोषणमा पर्ने गरेको पनि आइओएमको अध्ययनमा उल्लेख गरिएको छ। पछिल्लो समय रोजगारीका खोजीमा युरोप र अमेरिका पुगेका श्रमिक शरणार्थी बन्ने क्रम बढ्दै गएका छन्।
नेपालबाट भिजिट भिसाका नाममा मानव तस्कारी भइरहेको आइओएमले जनाएको छ। नेपाल सरकारले श्रम स्वीकृति जारीका गरेको आधारमा मात्र विदेशिने कामदारको तथ्यांक संकलन गर्दा रोजगारीबाट फर्किने श्रमिकको विवरण संकलन नभएको अध्ययनमा उल्लेख छ।
वैदेशिक रोजगारी सम्बन्धी नीति तथा ऐनमा व्यवस्था भएअनुसार दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउन नसकेको अध्ययनमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।