सुर्खेत- मानसरोवर कैलाश पर्वतको तीर्थयात्रामा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ।
एक पुरुषसहित दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक सुरतबहादुर चन्दले जानकारी दिए। मृत्यु हुनेमा भारत आन्ध्र प्रदेश कोरनुल निवासी पासपोर्ट नं एम ०९०१३०३ का ५६ वर्षीय विनिता सञ्जय खिदाकर रहेका छन्। उनको मृत्यु चीनको डोरपाकमा असार १७ गतेका दिन भएको प्रहरी नायब निरीक्षक चन्दले बताए।
मृतक खिदाकरको शवपरीक्षण ताक्लाकोटमा गरी निजको छोरा केटन सञ्जय खिदाकरको मञ्जुरीनामा अनुसार मंगलबार हुम्लाको हिल्सास्थित कर्णाली नदीको किनारमा दाहसंस्कार गरिएको छ।
त्यस्तै, असार १८ गते भारत केरला लम्किड निवासी पासपोर्ट नं एल ५४८६५९५ का ५६ वर्षीया महिला लीलानारायण म्याण्डेथको सिमकोटमा मृत्यु भएको उनले बताए। चन्दका अनुसार उनलाई शवपरीक्षणका लागि १९ गते सिम्रिक हेलिकोप्टरबाट सुर्खेत हुँदै काठमाडौँ लगिएको छ।
सोही दिन अर्का तीर्थयात्री भारत आन्ध्र प्रदेश काकीनाडा निवासी पासपोर्ट नं आर ९३२७८६७ का ५७ वर्षीय पुरुष सत्यालक्ष्मी नारायण (सुब्बा, राओ ग्राण्डी भेरा भेनका) को ताक्लाकोटमा मृत्यु भएको थियो। उनलाई पनि मंगलबार नेपालगन्ज हुँदै भारत लगिएको छ।
हुम्ला जिल्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले बाहिर सञ्चारमाध्यममा आएजस्तो तीर्थयात्री कोही पनि अलपत्र नपरेको बताए। मौसम बिग्रेर हवाई यातायात सेवामा अवरोध भएकाले सिमकोटमा तीर्थयात्रीहरु बस्नु परेको र सबै सकुशल फर्किरहेको उनले जनाए।
नागरिक उड्डयन प्राधिकरणका अनुसार भने अलपत्र परेका २७७ जनालाई हुम्लाको सिमिकोछ बाट नेपालगन्ज र सुर्खेत ल्याइएको जनाएको छ। बुधबार १७ उडान मार्फत उनहरुलाई उद्धार गरेको प्राधिकरणको भनाइ छ।
बैसाख–जेठदेखि सुरु हुने तीर्थयात्रामा त्यसयता ८ जना तीर्थयात्रीको हिँड्ने क्रममा मृत्यु भएको उनको भनाइ छ।
मानसरोवर कैलाश समुद्री सतहबाट ४ हजारदेखि ४ हजार ५ सय मिटर उचाइमा रहेकाले विशेषगरी लेक लागेर तीर्थयात्रीको मृत्यु हुने गरेको बताइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।