काठमाडौं– देशका विभिन्न ठाउँमा असार १५ देखि २० गतेसम्म बाढी र पहिरोमा परी २६ जनाको मृत्यु भएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पछिल्ला केही दिनको बाढी–पहिरोले पुर्याएको क्षतिको विवरण दिँदै १५ गतेयता २६ जनाको मृत्यु भएको जानकारी दिए। बाढीमा परी २ जना बेपत्ता भएका छन् भने झन्डै एक दर्जन घाइते भएका छन्।
गृहमन्त्रीले दिएको जानकारी अनुसार, बाँकेमा ४ जना, रोल्पामा ३, सिन्धुली, तनहुँ, पर्सा र मकवानपुरका २/२ जना, चितवन, काठमाडौं, उदयपुर, सिरहा, बारा, महोत्तरी, दाङ, बर्दिया र कैलालीमा १/१ जनाको मृत्यु भएको छ।
गृहमन्त्री थापाले बाढी प्रभावित स्थानहरुमा तत्काल राहत र उद्धारको काम सुरु गरिसकेको पनि जानकारी दिए।
उनले विपद् जोखिम न्यूनीकरण राष्ट्रिय परिषद्को बैठक बसिरहेको र आवश्यक पूर्वतयारी भइरहेको जानकारी दिए। उनले बाढी प्रभावितको राहत र उद्धारका लागि आवश्यक बजेट विनियोजन गरी जोखिमयुक्त स्थान पहिचान गेर राहत सामग्री पु¥याउने काम भइरहेको बताए।
गृहमन्त्रीले सेना, प्रहरी र सम्बन्धित निकायलाई र केन्द्रको युनिटलाई २४सै घन्टा सतर्क अवस्थामा राखिएको बताए। उनले पहिरोका कारण अवरुद्ध सडक खोल्नका लागि आवश्यक उपकरणको व्यवस्था गरिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।