काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका असंवैधानिक क्रियाकलाप विरुद्ध संसदमै अनसन बस्ने चेतावनी दिएको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका सासंदहरुले सरकार निरंकुश शैलीमा अगाडि बढेको तथा नागरिकलाई बोल्न पाउने नैसर्गिक अधिकारबाट समेत वञ्चित गराएको आरोप लगाए।
सांसद अमरेश कुमार सिंहले हिजो लोकतन्त्रका लागि बन्दुक पड्काउँदै लडेको पार्टीले आज सरकारमा बसेर नागरिकलाई बोल्न पाउने अधिकारबाट वञ्चित गरेको आरोप लगाए।
‘के लोकतन्त्रमा कहीँ कसैले भेला गर्न नपाउने? कसैले कुनै सरकारको विरोध गर्न पाउँदैन?’, उनले भने, ‘जुन पार्टी आज सरकारमा छ, हिजो लोकतन्त्रका लागि लड्दै बन्दुक पड्काइरहेको थियो। तर, आज आएर त्यही पार्टी र त्यही व्यक्ति सरकार र मन्त्रीमा बसेर बोल्न समेत बन्देज लगाइरहेको छ। यो कस्तो लोकतन्त्र हो?’
संसदमै अनसन बस्ने अवस्था सिर्जना नगर्न उनले सरकारलाई चेतावनी समेत दिए। उनले डाक्टर गोविन्द केसीको माग पूरा गरी चिकित्सा शिक्षा अध्यादेशलाई यथास्थितिमै संसदबाट पारित गराउन माग गरे।
सांसद डिला संग्रौला पन्तले डाक्टर केसीलाई सरकारले गैरन्यायिक व्यवहार गरेर लोकतन्त्र र मानवअधिकारको धज्जी उठाएको आरोप लगाइन्।
विशेष समयमा बोल्दै सांसदहरुले आ आफ्ना क्षेत्रका समस्यामा सरकारको ध्यानाकर्षण गराए।
सांसद रेखा शर्माले मनसुन सुरु ह्ुने बित्तिकै देशका विभिन्न स्थानमा बाढी–पहिरोले ठूलो क्षति पुर्याएको भन्दै क्षतिबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन्। उनले विपद् व्यवस्थापन ऐन निर्माणबारे सदनलाई जानकारी गराउन माग गरिन्।
सांसद महेन्द्र राय यादवले चुरे दोहनका कारण तराईका जिल्लाका भूभाग मरुभूमिमा परिणत हुँदै गएको भन्दै चुरे संरक्षणतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए।
यस्तै, सांसद हृदयेश त्रिपाठीले बाढी–पहिरोबाट समग्र तराई मधेस र पहाड आक्रान्त बन्दा पनि सरकारले यसबारे छलफल गर्न संकटकालीन बैठक डाक्न नसकेको टिप्पणी गरे। चुरेको दोहन तीव्र गतिले भइरहेको भन्दै उनले चुरे संरक्षणतर्फ सरकारको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।