चितवन– नारायणगढ–मुग्लिन सडक खण्डमा गएका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको छ।
सो सडक खण्डको इच्छाकामना गाउँपालिका–५, टोपेखोला र कालीखोलामा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार थप पहिरो नखसे कम्तीमा दिनको ४ बजेसम्ममा दुईतर्फी सडक सञ्चालन गर्न सकिने छ। सो सडकको टोपे खोलामा बिहान ५ः४० बजे र कालीखोलामा ८ः३० बजे पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेद गौतमले जानकारी दिए।
आयोजना प्रमुख बिसुरालका अनुसार दुवै ठाउँमा दुई–दुई वटा एक्साभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। सिमसिम पानी परिरहेको र दुई पहिरोका बीचमा सवारी साधन रहेकाले एकतर्फी सडक सञ्चालन गरेर बीचमा रहेका सवारी कटाउने काम १ बजेसम्म गरिसक्ने उनले बताए।
मुग्लिनबाट तीन दशमलव १२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला तीन दशमलव तीन किलोमिटर दूरीमा पर्छ। बीचको १ सय ८० मिटरमा मात्रै झन्डै ६० सवारीसाधन रहेको प्रहरीले जनाएको छ।
पहिरोले पूरै सडक ढाकेको छ। टोपेखोलामा पहिरोले करीब ५० मिटर र कालीखोलामा ३५ मिटर ढाकेको बिसुरालले बताए।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यथाशक्य छिटो एकतर्फी सवारी खुलाएर बीचमा अड्किएका गाडी सुरक्षित स्थानमा लैजान पहल भइरहेको बताए। ती दुवै ठाउँमा दुई सातायता लगातार पहिरो खसिरहेको छ। यो सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको समस्या बढेर गएको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।