राजविराज- सरकारले पर्याप्त रकम नपठाउँदा सप्तरीका अधिकांश द्वन्द्वपीडित व्यक्ति तथा परिवारले चालु आर्थिक वर्षमा पनि राहत रकम नपाउने भएका छन्।
स्थानीय शान्ति समितिले राहतका लागि जिल्ला प्रशासन कार्यालयमार्फत करिब १० करोड रुपैयाँ माग गरे पनि गृहमन्त्रालले २ करोड १५ लाख ९४ हजार रुपैयाँ मात्र निकासा दिएपछि अधिकांश व्यक्ति तथा परिवार राहत रकम पाउनवाट वञ्चित भएका हुन्।
मृतक (सेना/प्रहरी समेत) ४०, बेपत्ता ७, अंगभंग ३६, अपहरण १५, विस्थापित ९६२ र टुहुरा १ जनाका लागि समितिले रकम माग गरेको थियो। तर, पर्याप्त रकम नआएको समितिका कार्यालय सचिव रवीकुमार गुप्ताले बताए।
निकासा भएको २ करोड १५ लाख ९४ हजार रुपैयाँमध्ये पहिलो चरणमा माग गर्ने व्यक्ति तथा परिवारलाई उपलब्ध गराउन थालिएको उनले जानकारी दिए। ‘बाँकी रहेकाहरुको हकमा पुनः रकम मागका लागि प्रक्रिया अघि बढेको छ,’ गुप्ताले भने, ‘यो लटमा नपाउनेहरुलाई अर्को लटमा उपलब्ध हुन्छ।’
सप्तरीमा हालसम्म २७ सेना/प्रहरीसहित ८९ जना मृतकका परिवारलाई १० लाखका दरले, २५ जना बैपत्ताका परिवारलाई १० लाखका दरले र ११४ जना विस्थापितलाई २५ हजारका दरले राहत रकम उपलब्ध गराइसकिएको छ।
सेना/प्रहरीले पाउने १० लाखमध्ये ७ लाख ५० हजार सम्बन्धित संगठन र २ लाख ५० हजार शान्ति समितिमार्फत उपलब्ध भएको गुप्ताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।