काठमाडौं– डा गोविन्द केसी पटकपटक अनसन बसे पनि के उपलब्धि भयो भनेर सोध्नेहरुलाई गगन थापाले त्यस्तो प्रश्न सोध्ने अधिकार नै नभएको बताएका छन्।
मंगलबार साँझ फेसबुक लाइभमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता थापाले डा केसीसँग भएका सम्झौताको आंशिक पालनाले पनि शुल्क, नियमन, सिट संख्याको कुरामा सुधार भएको बताए। ती उपलब्धिहरु आफूले गनेर भन्न सक्ने भन्दै उनले सोधे, 'के हामी कसैलाई यो प्रश्न अधिकार छ? डा केसी जतिपटक अनसन बस्नुभएको छ, त्यतिपटक सम्झौता भएका छन्। सम्झौताहरु पालना नगर्ने सरकारलाई प्रश्न गर्ने कि डा केसीलाई प्रश्न गर्ने?'
कसैले डा केसीको आन्दोलनका कारण नेपाली विद्यार्थी बाहिर पढ्न जानुपरेको भन्छ भने उसले यो विषयलाई सम्पूर्ण रुपमा नबुझेको ठहरिने समेत थापाले बताए।
'यो विषयमा सतही ज्ञान हुनेले मात्रै यस्तो भन्छ', थापाले भने।
थापाले अनसन बसेका डा केसीलाई अमानवीय व्यवहार गरिएकोमा विरोध जनाए।
डा केसीमाथिको व्यवहार निन्दनीय भएको भन्दै उनले थपे, 'यो व्यवहार राजा ज्ञानेन्द्रको निरंकुशताभन्दा कुनै कम छैन। डा केसीको उपचार गर्ने कुरामा पनि अवरोध गरेर जुनखाले रबैया देखाइएको छ, त्यो निन्दनीय छ।'
उनले चिकित्सा क्षेत्र अरु क्षेत्रजस्तो नभएको बताए। 'यो कुनै स्वतन्त्र ढंगले उद्योग खोलेजस्तो होइन', थापाले भने।
विधेयक ल्याउँदा अध्यादेशमा आवश्यक सामान्य सुधार गरेर मात्रै ल्याउन उनले आग्रह गरे।
थापाले आफूमाथि लाग्ने गरेको विभिन्न आरोपको खण्डन समेत गरे।
'तपाईँहरु आरोप लगाउँदै हिँड्ने, त्यो आरोप गलत हो भन्दै हिँड्ने मसँग समय छैन', थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।