काठमाडौं– रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा विभिन्न संस्था खडा गरी ठगीमा संलग्न १८ जना व्यवसायी अझै फरार छन्। उनीहरुलाई पक्राउ गर्न प्रहरीले समेत चासो दिएको छैन।
डायग्नोस्टिक मेडिकलका कैलाश खड्का र प्रवीण तिवारी, जिएसजीका सञ्चालक गोविन्द थपलिया, गोपाल गुरुङ, मुकुन्दप्रसाद पन्त र नवीन कँडेलसहित १८ जना व्यवसायी प्रहरीको फरार सूचीमा छन्। ३७ जनालाई पक्राउ गरेर मुद्दा दायर गरिए पनि बहुचर्चित ठगी प्रकरणमा संलग्न केही मुख्य व्यक्तिहरु भने अझै फरार छन्।
रोजगारीमा मलेसिया जाने कामदारमाथि अतिरिक्त रकम असुल्दै आएका ६ वटा सिन्डिकेट संस्था अवैध भएको भन्दै सरकारले गत महिना खारेज गर्ने निर्णय गरेको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उक्त निर्णयपछि गृहमन्त्रालयको निर्देशनमा काठमाडौं प्रहरीले ३७ जना बायोमेट्रिक मेडिकल सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।
पक्राउ परेका सबै मेडिकल व्यवसायी अदालतको आदेशमा धरौटीमा छुटिसकेका छन्। सात अर्बभन्दा बढी ठगीमा संलग्न व्यवसायीहरु न्यूनतम धरौटीमा छुटेका हुन्।
फरार रहेका मेडिकल व्यवसायीहरु विरुद्ध अदालतले पक्राउ वारेन्ट समेत जारी गरिसकेको छ। तर, उनीहरुलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन। प्रहरीको फरार सूचीमा रहेका मेडिकल सञ्चालक खुलेआम हिँडिरहेका छन्। दबावका कारण प्रहरीले पक्राउ गर्न चासो नदिएको स्रोत बताउँछ।
जिल्ला अदालत काठमाडौं र ललितपुरमा करिब ४ अर्ब रुपैयाँ बिगो दाबीसहितको ठगी मुद्दा विचाराधीन छ।
पछिल्लो समय रोजगारीका लागि मलेसिया जाने क्रममा स्वास्थ्य परीक्षणका नाममा ठगिएका कामदारलाई क्षतिपूर्ति दिलाउनुपर्ने माग विभिन्न संघसंस्थाले सरकारसामु उठाउन सुरु गरेका छन्।
मलेसिया सरकारले विदेशी कामदारमाथि विभिन्न बहानामा आर्थिक भार थप्दै आएका कम्पनी बन्द गर्ने निर्णय गरिसकेको छ। मलेसियाको विदेश मन्त्रालयले बंगलादेशी कामदारमाथि आर्थिक भार थप्दै आएका संस्था बन्द गरी त्यहाँ कामदार लिने प्रक्रिया नै केही दिनका लागि बन्द गरेको छ। मलेसिया सरकारले बंगलादेशको निर्णयसँगै नेपालको पनि सिन्डिकेट खारेज गर्ने संकेत गरेको छ।
फरार रहेका मेडिकल व्यवसायी
गोविन्द थपलिया, जिएससी
गोपाल गुरुङ, जिएससी
मुकुन्दप्रसाद पन्त, जिएससी
कैलाश खड्का र प्रवीण तिवारी, डायनास्टिक मेडिकल
दीपेन्द्रप्रसाद गुप्ता र वसुवास गिरी, फ्युजन पोलिक्लिनिक
दीपककुमार कार्की, सुधा पोलिक्लिनिक
सुशीला खड्का, हिमालय डाग्नोस्टिक
नवीन कँडेल, जिएसजी
महेशराज श्रेष्ठ, पब्लिक हेल्थ केयर
प्रवीण तिवारी, सनराइन मेडिकल
जीवन केसी, सिर्जना मेडिकल
सुजाता भण्डारी, भ्याली मेडिकल सेन्टर
गोपाल दाहाल र उद्धव थापा, साउथ एसियन हेल्थ केयर
कैलाश खड्का, अनमोल मेडिकल
गायत्री जिसी, कसमस मेडिकल
५ व्यवसायीलाई अनुसन्धानमै तानिएन
ठगीमा संलग्न पाँच वटा मेडिकल सञ्चालकलाई भने सरकारले कानुनी दायरामा ल्याउन सकेको छैन।
बानेश्वरमा निलाम्बर झाले सञ्चालन गरेको एभरेस्ट हेल्थ होम, महाराजगञ्जमा प्रदीप फोइवाले सञ्चालन गरेको लोटस पोलिक्लिनिक, जावलाखेलमा श्याम थापाले सञ्चालन गरेको प्रशान्ति हेल्थ केयर, मध्यबानेश्वरमा मीरा शर्माले सञ्चालन गरेको सहारा हेल्थ सेन्टर र महाराजगञ्जमा सुसान खड्काले सञ्चालन गरेको सनराइज पोलिक्लिनिक ठगीमा संलग्न भए पनि अनुसन्धानमा तानिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।