काठमाडौँ- रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ।
अबको केही दिनमा नै पुनःनिर्माणको काम सुरु हुने भएकाले ती सामग्र हटाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ। १८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणको क्रममा प्रयोग भएको आधुनिक निर्माणको सामग्री सबै हटाइएको हो।
भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनःनिर्माणको काम सम्पन्न गरिने कामपाका इञ्जिनियर राम थापाले जानकारी दिए। 'आगामी आवको सुरुवातमा नै काम थालेर त्यसै आवमा नै सक्नेगरी कामपाले काम अघि बढाउनेछ, सबैसँग सल्लाह भइसकेको हुनाले यसअघिजस्तो काम रोक्ने र विरोध हुँदैन,' उनले भने।
पुरातत्व विभागबाट सहमति आएसँगै पुनःनिर्माणको काम सुरु हुने पनि कामपाले जानकारी दिएको छ। त्यसका लागि साउनको पहिलो सातासम्म कुर्नुपर्छ।
यसअघि कामपाले आगामी जेठ १५ गतेदेखि पुनःनिर्माण थाल्ने जानकारी गराएपनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन। २०७२ सालको भूकम्पको कारण रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो।
पुनःनिर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो। उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।