रसुवा– रसुवाको सदरमुकाम धुन्चेदेखि गोसाइँकुण्डसम्म केवलकार निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ। पर्यटन प्रबर्द्धनका लागि गोसाइँकुण्डसम्म निर्माण हुने केवलकारका लागि वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए)को प्रक्रिया अघि बढेको हो।
केवलकार निर्माण गर्दा वातावरणमा कम क्षति हुने र अनुगमन गर्न समेत सहज हुने भएकाले इआइए अध्ययनका लागि अनुमति दिन उपयुक्त रहेको राय विभागमा पठाएसँगै प्रक्रिया अघि बढेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पू तामाङले बताए। गोसाइँकुण्डमा केबलकार निर्माणका लागि प्रस्ताव गरिएका अन्य क्षेत्रमध्ये धुन्चे–गोसाइँकुण्ड केवलकार छोटोे रहेको र सस्तोमा निर्माण हुने तामाङको भनाइ छ।
४ हजार ६ सय मिटर उचाइमा रहेको गोसाइँकुण्डसम्म सञ्चालनमा ल्याइने केवलकार ६ दशमलव ५ किलोमिटर लम्बाइको हुने बताइएको छ। उक्त दूरीमा २ वटा टर्मिनल र २८ वटा टावर राखिने छन्।
प्रस्तावित क्षेत्र निकुञ्जको भएकाले केवलकार निर्माण अघि इआइए गर्नुपर्ने हुन्छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले एक वर्षदेखि निर्माणको लागि अगुवाई गर्दै आएको थियो। केवलकार निर्माण गर्न एक अर्व ८५ करोड लाग्ने गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिए। उनले भने,‘अनुमति पाएपछि इआइएको कार्य हामी तत्कालै अगाडी बढाउछौँ।’
आयोजनाको सुरुको स्थान गोसाइँकुण्ड गाउँपालिका–६ र अन्तिम स्थान गाउँपालिकाको वडा नम्बर ५ मा पर्दछ। आयोजना निर्माण भएमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई धार्मिकस्थल गोसाइँकुण्डको भ्रमण गर्न सहज हुने छ।
केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले बजेट विनियोजन गरिसकेका छन्। आर्थिक वर्ष २०७५/०७६ का लागि केवलकारको अध्ययन गर्न प्रदेश नम्बर ३, गोसाइँकुण्ड गाउँपालिका र नौकुण्ड गाउँपालिकाले ५५ लाख बजेट विनियोजन गरेका छन्।
विगत लामो समयदेखि धुन्चे–गोसाइँकुण्ड केवलकार निर्माण गर्ने भनिए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन। तर जिल्लाका जनप्रतिनिधिहरुले सो कार्यमा चासो देखाएपछि धुन्चेदेखि गोसाईकुण्डसम्म केवलकार निर्माण हुने भएको हो।
धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि मोटरबाटो निर्माण गर्दा वन्यजन्तुको वासस्थानमा असर पर्नुका साथै वातावरणमा अधिकतम असर गर्ने भएपनि केवलकार निर्माण गर्दा कम असर देखिने लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ। केवलकार निर्माण गर्दा वन तथा वातावरणमा केही नकरात्मक प्रभाव पर्ने भएपनि आयोजना निर्माण भएमा निकुञ्ज क्षेत्रमा अनुगमन गर्न र वन्यजन्तुको चोरी शिकार एंवम् वनपैदावरको चोरीनिकासी नियन्त्रण गर्न सहज हुने बताइएको छ।
केवलकार निर्माण हुने क्षेत्रमा विश्वकै दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा), हिउँ चितुवा, कस्तुरी मृग, घोरललगायत वन्यजन्तुको मुख्य वासस्थान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।