धनगढी- अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्रमा नदीमा बढेको पानी गाउँमा पस्दा भजनी नगरपालिका र आसपासका २२ घर परिवार विस्थापित भएका छन्।
सो क्षेत्रका काँन्द्रा, काँडा र पथरैया नदीमा बढेको पानी गाउँमा पसेपछि विस्थापन भएका भजनी नगरपालिका, पुलियापुर गाउँका १४ घरपरिवार र धामीधारा गाउँका आठ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए।
यसैगरी भजनी आसपासको हुलाकी राजमार्गदेखि उत्तरतर्फका लालबोझी, नौबस्ता, कुटी, काँडा लगायत गाउँका झन्डै २ सय घरमा पानी पसेपछि प्रभावित भएका छन्।
'कतिपयलाई स्थानीय क्षेत्रमा बनाइएको ‘सेफ हाउस’ मा राखिएको छ', प्रहरी निरीक्षक चन्दले भने, 'अन्य कतिपय परिवारले हुलाकी राजमार्गलाई ‘सेल्टर’ का रुपमा प्रयोग गरेका छन्।'
सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जिल्लाका बाढी डुबानका जोखिम क्षेत्र पहिचान गरी पूर्वतयारीस्वरुप सबैलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।
यसैबीच, भजनीस्थित हुलाकी सडक बाढीले भत्काएको छ।
कैलालीको दक्षिणी भेगमा पूर्वपश्चिम हुँदै निर्माण गरिएको हुलाकी राजमार्गले कतिपय क्षेत्रमा डुबानको समस्या निम्त्याउने गरेकामा होचो भागमा बस्ने कतिपय बस्तीका बासिन्दाका लागि भने राजमार्गले ‘सेल्टर’ का रुपमा काम गरेको छ।
गत वर्ष बाढीका समयमा भजनी क्षेत्रका सयौं परिवारले करीब तीन सातासम्म हुलाकी राजमार्गमै त्रिपाल टाँगेर बास बस्नुपरेको थियो। ठूलो वर्षा हुने सम्भावना अझै रहेकाले नदी तटीय क्षेत्रका बस्तीलाई सजग रहन जल तथा मौसम विज्ञान विभाग स्थानीय कार्यालयले आग्रह गरेको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।