काठमाडौं– मलेसिया सरकारले गैरकानुनी रुपमा लुकेर काम गरिरहेका आप्रवासी कामदारमाथि आइतबारदेखि धरपकड सुरु गरेको छ।
उक्त धरपकडमा केही संख्यामा नेपाली कामदार पनि पक्राउ परेको हुनसक्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
आइतबार राजधानी क्वालालम्पुर आसपासमा प्रहरीले अवैध कामदारमाथि धरपकड गरेको थियो। सो क्रममा ३ सयभन्दा धेरै आप्रवासी कामदार पक्राउ परेको मलेसियाका स्थानीय सञ्चार माध्यमले जनाएका छन्। ती सञ्चारमाध्यमका अनुसार, सोमबार पनि मलेसिया सरकारले आप्रवासी कामदारको बढी चाप भएका स्थानमा खोजी गरेको थियो।
मलेसियाको गृह मन्त्रालय र अध्यागमन विभागले आइतबारदेखि राजधानी क्वालालम्पुरका जलान तुन रजाक, सेन्ट्रल मार्केट, पासार सेनि, लेबु पुडु, मेडान पासार, पेतालिङ स्ट्रिट र जलान सिलाङमा धरपकड गरेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। नेपाली तथा बंगलादेशका नागरिकले सञ्चालन गरेका होटल र रेस्टुरेन्टहरुमा गरिएको मलेसियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
त्यस क्रममा कति नेपाली पक्राउ परे भन्ने खुल्न सकेको छैन।
क्वालालम्पुरका जलान र सिलाङ आसपासमा गैरकानुनी रुपमा धेरै विदेशी कामदारले काम गर्ने गरेका छन्।
मलेसिया सरकारले गैरकानुनी कामदारहरुलाई स्वदेश फर्कन आगामी अगष्टसम्मको समय दिएको छ। यसका लागि आममाफी प्रक्रियामा सहभागी हुनका लागि निवेदन दिन गत अप्रिल ५ देखि जून ३० सम्मको समयावधि दिइएको थियो। उक्त प्रक्रियामा सहभागी नभएर लुकिरहेका कामदार पक्राउ गर्न सरकारले विशेष अभियान चलाएको हो।
गएको तीन वर्षभित्र मलेसिया सरकारले विदेशी कामदारमाथि ४ पटकभन्दा बढी धरपकड गरिसकेको छ। त्यस आममाफी प्रक्रियामा सहभागी भएर ३० हजारभन्दा बढी नेपाली कामदार स्वदेश फर्किएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
मलेसियामा करिब १ लाख नेपालीले गैरकानुनी रुपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।