काठमाडौं– यातायात व्यवस्था कार्यालयकै कर्मचारीको मिलेमेतामा नक्कली कागजपत्रका आधारमा सक्कली लाइसेन्स दिने गरेको अर्काे घटना बाहिर आएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो(सिआइबी)ले सोमबार ७ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइको छ।
नक्कली कागजपत्रका आधारमा लाइसेन्स लिने तीन सर्वसाधरण तथा ४ विचौलियालाई पक्राउ गरिएको सिआइबीका एसपी कृष्णहरी शर्माले बताए।
पक्राउ पर्नेहरुमा आङ कुसाङ शेर्पा, अमित पुपेटी, लछु लामा, श्री प्रसाद बुढाथोकी, नोर्बु लामा, जर्सिङ तामाङ र रामचन्द्र गौतम छन्। एसपी शर्माका अनुसार सुकेधारा र एकान्तकुनास्थित यातायात कार्यालयबाट विदेशी लाइसेन्स नेपालीकरणका नाममा मिलेमतोमा लाइसेन्सको बिक्रि भएको थियो। जसमा प्रतिव्यक्ति औसत ५० हजार रुपैयाँ लिने गरेको अनुसन्धानमा खुलेको छ।
कुनै व्यक्तिले विदेशमा लाइसेन्स लिएको छ भने नेपालमा लिन परिक्षा तथा ट्रायल दिनु पर्देन।
सोही सुविधाको दुरुपयोग गरी उनीहरुले आफुहरुले भारतमा लाइसेन्स लिएको भन्दै नक्कली कागजपत्र देखाएर बिचौलियामार्फत लाइसेन्स लिएका हुन्। पक्राउ परेका बिचौलियाहरुले कर्मचारीहरुलाई पनि पैसा खुवाएर लाइसेन्स निकालिदिने गरेको बताएका छन्। यसरी सयौं व्यक्तिहरुले लाइसेन्स लिएका थिए।
कर्मचारीहरुमाथि अनुसन्धान र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिने एसपी शर्माले बताए।
यसअघि अख्तियारले यस्तो धन्दामा संलग्न तीन कर्मचारीसहितका व्यक्तिहरुलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो। सुकेधारास्थित यातायात कार्यालयबाट मात्र नेपालीकरणको नाममा २ हजार लाइसेन्स बिक्रि भएको खुलेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।