काठमाडौं- अविरल वर्षाका कारण मुलुकभरका विभिन्न १० स्थान उच्च जोखिमयुक्त घोषित भएका छन्। जल तथा मौसम विज्ञान विभागले अत्यधिक वर्षा भएका १० स्थानलाई जोखिमयुक्त भन्दै सतर्क रहन चेतावनी दिएको छ।
विभागका अनुसार कर्णाली नदीको प्रभावित क्षेत्र चिसापानी र गुराँसे, बबई नदीको प्रभावित क्षेत्र चेपाङ क्षेत्र, गुलरिया, घोराही, पदमपुर र रानीजवँरा, पश्चिम राप्तीको नेपालगञ्ज र लमही र नारायणीको रजैया चेतावनी तहभन्दा माथिको वर्षा भइरहेको छ।
यी स्थानमा न्यूनतम १४५ देखि अधिकतम २१८ मिलिलिटरसम्म वर्षा भइरहेको छ । २४ घन्टाभित्र १४० मिलिलिटरभन्दा बढी वर्षा भएका क्षेत्रलाई विभागले जोखिमयुक्त क्षेत्र घोषणा गर्छ।
विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार अबको ७२ घन्टाभित्र मुलुकभरका सबै स्थानमा वर्षा हुनेछ।

अविरल वर्षासँगै निम्तिन सक्ने क्षति न्यूनीकरण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विपद् व्यवस्थापन समन्वय समिति गठन गरेको छ। सोमबार पत्रकार सम्मेलन गरेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले वर्षासँगै निम्तिन सक्ने बाढी पहिरोको क्षति न्यूनीकरण र पूर्वाधारको आपतकालीन संरक्षणका लागि उक्त समिति गठन गरिएको जानकारी दिए।
दुई साताअघि नै यस्तो समिति गठन गरिसकेको जानकारी मन्त्रालयले दिएको छ। मन्त्रालयको जलस्रोत महाशाखा प्रमुखको नेतृत्वमा गठित उक्त समितिमा जल तथा मौसम विज्ञान विभाग, जलस्रोत तथा सिँचाइ विभाग, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरण सदस्य तथा जलउत्पन्न प्रकोप व्यवस्थापन शाखा प्रमुख सदस्य सचिव छन्।
अविरल वर्षासँगै बाढी, पहिरोको क्षति बढ्न थालेपछि यसलाई उच्च सतर्कता अपनाई काम गर्न मन्त्री पुनले निर्देशन दिएका छन्।
उक्त समितिलाई बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रको जनधनको संरक्षण तथा पूर्वाधारहरूको आपतकालीन संरक्षण गर्न आवश्यक सूचना संकलन गरी नियन्त्रणात्मक उपाय अपनाउने कार्यभार दिइएको छ।
मन्त्रालयले बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रहरू पहिचान गरी जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग, जल तथा मौसम विज्ञान विभाग, सिँचाइ विभाग, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणलाई आ–आफ्नो क्षेत्राधिकारभित्र रही पूर्वतयारी गर्नसमेत निर्देशन दिएको छ।
मन्त्री पुनले प्रधानमन्त्री अन्तगर्तको विपद् व्यवस्थापन राष्ट्रिय परिषद्लाई सहयोग गर्नेगरी समितिले काम गर्ने बताए। विपद् व्यवस्थापनका लागि प्रदेश तहमा पनि समिति गठन भएको मन्त्रालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।