काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका रिक्त रहेका उच्च पदमा विवादका कारण बढुवा रोकिएको छ। असार महिनाभित्र बढुवा नभए असोजमा मात्र बढुवा प्रक्रिया सुरु हुने छ।
नेपाल प्रहरीका एआईजीका तीन दरबन्दी रिक्त छन्। त्यस्तै सशस्त्र प्रहरीमा लामो समयदेखि डिआइजीका ५ पद रिक्त छन्।
सशस्त्र प्रहरीको तीन पदका लागि १० डिआइजी दाबेदार छन्। जसमध्ये ४ जनाले आगामी २९ गतेदेखि अवकाश पाउँदैछन्।
गृहसचिव प्रेमकुमार राई आइतबार साता लामो विदेश भ्रमणमा गएपछि असारभित्र बढुवा हुने सम्भावना कम भएको छ। स्रोतका अनुसार नेपाल प्रहरीमा असारभित्र एआइजीमा बढुवा नगर्ने गृह मन्त्रालयको रणनीति छ।
बढुवाका ५ डिआइजीले अवकाश पाएपछि मात्र बढुवा गर्न लागिएको छ।डिआइजीहरु उत्तम कार्की, छविलाल जोशी, पवन खरेल, ज्ञान बिक्रम शाह, शरद चन्दले २९ गतेदेखि ३० वर्षे सेवाहदका कारण अवकाश पाउँदैछन्। माथिल्ला पद रिक्त राखेर आफुहरुलाई सरकारले अन्यायपूर्ण ढंगले अवकाश दिने लागेको एक डिआइजी बताउँछन्।
उनीहरु बाहेक पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई, सुरेश बिक्रम शाह बढुवाका आकांक्षी हुन्।
नयाँ आर्थिक वर्ष सुरु भएपछि तीन महिनासम्म बढुवा प्रक्रिया सुरु गर्न मिल्दैन। तीन महिनासम्म कार्यसम्पादन मूल्याङकनको फारम भर्ने समय हुने भएकाले अहिले बढुवा नभए असोजमा मात्र हुने छ। नेपाल प्रहरीमा हाल प्रशासनतर्फ एक जना पनि एआइजी छैनन्। प्रहरी एकेडेमी र प्रहरी प्रधान कार्यालयका ४ विभागलाई २ वटा बनाएर एआइजीको नेतृत्व दिने सरकारको तयारी छ।
त्यस्तै सशस्त्र प्रहरीमा विगत ५ महिनादेखि डिआइजी पदमा बढुवा हुन सकेको छैन। बढुवाका आकांक्षीहरु धेरै भएकाले डिआइजी पदमा बढुवा रोकिएको हो। अहिले डिआइजी बन्नेमध्ये एक भावी आइजिपीको पनि दाबेदार हुने भएकाले कसलाई पहिलो नम्बरमा बढुवा गर्ने भन्ने विवाद समेत रहेको स्रोत बताउँछ।
एसएसपीहरु रामप्रसाद श्रेष्ठ, प्रजाभक्त श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, बंशी दाहाल, गोविन्द क्षेत्री लगायत सशस्त्रमा बढुवाका प्रमुख प्रतिस्पर्धी हुन्।
दुवै निकायको बढुवामा गृहसचिवको अध्यक्षतामा बढुवा सिफारिस समिति रहने प्रावधान छ। तर, गृहसचिव यही बेला विदेश भ्रमणमा गएपछि बढुवा प्रक्रिया धकेलिएको हो।
समयमा बढुवा नहुँदा संगठनको नेतृत्व र गृह मन्त्रालयप्रति प्रहरी अधिकारीहरु असन्तुष्ट बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।