काठमाडौ- देशका अधिकांश स्थानमा भइरहको अविरल वर्षाका कारण तराईमा बाढीको खतरा देखिएको छ।
तराई क्षेत्र जलमग्न भएको छ भने कतिपय ठाउँलाई हाई अलर्टमा राखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालतर्फ सरेकाले वर्षा भइरहेको हो। हिजोबाट सुरु भएको वर्षा भोलिसम्म रहने महाशाले जनाएको छ। बबई नदी, पच्चिम राप्ती जलाधारको धेरैजसो स्थानहरूमा तथा कर्णाली नदी जलाधारको चिसापानी र आसपास भारी वर्षा मापन भइरहेको छ। नदीको तटीय क्षेत्रमा जलसतह बढ्ने क्रम जारी छ।
मनसुन पूर्ण रुपमा सक्रिय भएकाले अबको केही दिन वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए। पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहन मौसमविद्ले आग्रह गरेका छन्।
सबै प्रमुख नदीको जलसतह हाल बढ्दो क्रममा रहेको छ।
मौसम विभागले निरन्तर वर्षाको सम्भावना रहेका कारण देशका पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा अनुमान गरेको छ। कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव बढ्दो क्रममा रहेको छ।
कोसी, नारायणी, कर्णाली र महाकाली नदीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ। नारायणी र यसका शाखा नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। महाभारत र चुरेबाट बहने विरिङ, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायत अन्य नदीमा बहाव सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको छ।

नेपालगञ्जमा सर्तकता अपनाउन प्रशासनको आग्रह
आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ।
निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ।
पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् भने पैदलयात्रीलाई अप्ठेरो भएको छ। नेपालगञ्जका विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको हो।
वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन्। वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन्। बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ।
बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह दुई मिटर पुगेको छ। कुसुममा साढे पाँच मिटर सतह पुग्ने बित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकाअन्तर्गत नदी आसपासका नागरिकलाई सर्तकता अपनाउन तथा अग्लो सुरक्षित स्थानको समेत खोजी गर्न आग्रह गरिएको बताए।
भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन्। वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा हाइअलर्ट रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ।
यातायात आवागमनमा समस्या
लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ।
गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ। नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगमनमा समस्या भइरहेको हो।
मिर्चैयाको थाना चोक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ। वर्षाले मिर्चैयाका सडक तथा बाटो जलमग्न र हिलाम्य भएको छ।
नगरभित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा सामान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ। सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्नसमेत कठिनाइ भएको स्थानीय महेन्द्र साहले बताए।
अविरल वर्षाका कारण जिल्ला मिर्चैयाको साथै गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ।राससको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।