राजविराज– आर्थिक चलखेलको आरोपसहित कानुन व्यावसायीले लगातार इजलाश वहिष्कार गरेपछि आइतबार साँझ उच्च अदालत जनकपुर राजविराज इजलासका ३ न्यायाधीशको सरुवा भएको छ।
न्याय परिषद्ले न्यायाधीशहरु मोहनबहादुर कार्की, सल्लाहउद्दिन अख्तर सिद्दिकी र नसरुल्लाह अन्सारीको काज सरुवा गरेको राजविराज इजलाशका रजिस्ट्रार रोशनकुमार भट्टराईले बताए।
कार्कीको जनकपुर उच्च अदालत, सिद्दिकीको सर्वोच्च अदालत र अन्सारीको दिपायल उच्च अदालतमा काज सरुवा भएको छ।
राजविराज उच्च अदालत बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीले सुरु गरेको आन्दोलनका कारण गत मंगलबारदेखि न्यायसेवा प्रभावित हुँदै आएको थियो। आन्दोलनका कारण सुनुवाइका क्रममा रहेका ३ सय ५० थान मुद्दा प्रभावित भएका थिए। टाढा–टाढाबाट न्यायका लागि आएका सेवाग्राही मर्कामा परेकाले सोमबारदेखि बेन्चमा पेशी तोकिने रजिस्ट्रार भट्टराईले बताए।
वार र बेन्चबीच देखिएको समस्या समाधानका लागि गत शुक्रबार न्यायपरिषद्का सदस्य तथा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रले कानुन व्यवसायीसँग छलफल गरेका थिए।
छलफलका क्रममा आइतबारसम्म मागको उचित सम्बोधन गर्ने र कानुन व्यवसायीले बहसमा सहभागिता जनाउने सहमति भएको थियो। तर, साँझसम्म पनि सहमतिको पालना नभएको भन्दै कानुन व्यवसायीले आइतबार पनि इजलास बहिस्कार गरेका थिए।
राजविराज उच्च उदालत बार एसोसिएसनका सविच विमलकुमार साहले आफूहरुका आंशिक माग पूरा भएकाले सोमबार बारको बैठक बसेर बहसमा भाग लिने÷नलिने निर्णय गरिने बताए। कानुन व्यवसायीले राय किताव र फैसला फरक पार्ने न्यायाधीशलाई कारबाहीसहित सम्पूर्ण न्यायाधीशको सुरुवा माग गरेका छन्।
बलान बिहुल गाउँपालिका –४ (बेल्ही) की सुमित्रादेवी साह (प्रत्यार्थी) र धनमायादेवी साह समेत (प्रतिवादी) को मिलापत्र बदर, जालसाजी र अंशबण्डा मुद्दामा राजविराज इजलासका न्यायाधीश नसरुल्लाह अन्सारी र बबिता उप्रेतीले आर्थिक चलखेल गरेर फैसला सुनाएको कानुन व्यवसायीको आरोप छ।
२०७४ कात्तिक ६ को संयुक्त इजालसले जिल्ला अदालतको ०७१ जेठ २६ को फैसला सदर हुने भनी राय किताबमा लेखेकोमा फैसलाको पूर्ण विवरण लेख्दा भने बकसपत्रको २ बिघा ८ कठ्ठा १५ धुर जग्गाबाहेक सुरु सदर थपेर फैसला फरक पारेको कानुन व्यवसायीको आरोप छ।
राय किताबमा सप्तरी जिल्ला अदालतबाट २०७१ पुस ६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ। पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भनेर फैसला सुनाएको थियो। तर, फैसला आउँदा तदायति फाँटबारीमा बकसपत्र बाहेकको हदसम्म मिलेकै देखिँदा सदर ठहर्छ भनेर फरक पारिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।