काठमाडौं– चिकित्सा शिक्षा विधेयक कार्यसूचीबाट हटाउने सहमतिपछि राष्ट्रियसभा बैठक सुरु हुने भएको छ। प्रतिनिधिसभा बैठक यही विधेयकका कारण सोमबारका लागि सरेको छ।
कार्यव्यवस्था बैठकमा कांग्रेसले हाल सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रयास भएमा अवरोध गर्ने चेतावनी दिँदै आएको थियो। राजनीतिक दलहरुबीचमा सहमती हुन नसक्दा चिकित्सा शिक्षा आयोग गठनको प्रतिस्थापन विधेयक राष्ट्रियसभामा पेश गर्ने विषयमा अन्योल थपिएको छ।
यही विवादका कारण दिउँसो १ बजे बस्ने कार्यसूची तय भएको संघीय संसद्ंको माथिल्लो सदन राष्ट्रियसभाको बैठक ५ बजेसम्मका लागि सारिएको थियो। यसअघि प्रतिनिधिसभामा पनि दलहरुबीच विवाद हुँदा विधेयक पेश नभई बैठक स्थगित भएको थियो।
चिकित्सा शिक्षा विधेयकले ऐनको रुप ग्रहण गर्न आगामी २० गतेसम्म प्रतिस्थापन विधेयक पारित हुनुपर्नेछ। यही वाध्यतालाई देखाउँदै सरकारले विधयेकमाथि संशोधन र छलफल गर्ने नियम निलम्वन गर्दै पारित गराउने तयारी थालेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले त्यसको विरोध गर्दा बैठक बस्न सकेन। प्रतिपक्षको विरोधले प्रतिनिधिसभा बैठक सोमबारका लागि सूचना टाँसेर स्थगित भइसकेको छ।
छलफल नगरी पारित गर्नुपर्ने अवस्था भएमा यसअघिकै सरकारले जारी गरेको अध्यादेश विधेयकका रुपमा दर्ता गर्न कांग्रेसका तर्फबाट माग गरेपछि बैठक ५ बजेका लागि सारिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।