नुवाकोट– नुवाकोटमा निर्माणाधीन ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाले एक वर्षमा विद्युत् उत्पादन सुरु गर्ने भएको छ।
८८ प्रतिशत निर्माण पूरा भएको आयोजनाले २०७६ असारबाट विद्युत् उत्पादन गर्ने भएको हो। सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुगिसकेकाले आगामी महिनाबाट विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान थालिने आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए।
जोशीका अनुसार जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याउन सुरु भएको छ। चाइना गेजुबा ग्रुप कर्पोरेशन (सिजिजिसी) ले सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुर्याएको आयोजनामा हाइड्रोमेकानिकलतर्फ ६५ प्रतिशत काम पूरा भएको छ।
आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत् २२० केभी त्रिशूली ३ बी हब सव–स्टेसनमा लगेर जोडिनेछ। विद्युत् उत्पादन सुरु हुनुअघि हब तयार नभए आयोजनाले नै निर्माण गरिरहेको त्रिशूली–मातातीर्थ प्रसारण लाइनमार्फत मातातीर्थ सव–स्टेसनमा लगेर जोड्ने तयारी छ। प्रसारण लाइनको ४५ प्रतिशत काम सकिएको छ।
आयोजना पूरा हुँदा हब तयार नभए पनि विद्युत् खेर नजाने योजना प्रमुख जोशीले बताए। २२० केभी लाइनलाई १३२ मा चार्ज गरेर मातातीर्थमा लगेर जोड्ने योजना छ।
४५ किलोमिटर लामो त्रिशूली मातातीर्थ २२० केभी प्रसारण लाइन आयोजनाले निर्माण गरिरहेको छ। विद्युतगृहदेखि हबसम्म १३२ केभी र हबदेखि मातातीर्थसम्म २२० केभी डबल सर्किट लाइन निर्माण भइरहेको छ। आयोजना र प्रसारण लाइन पूरा हुँदा १२ अर्ब १२ करोड रुपैयाँ खर्च हुने अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।