काठमाडौं– मनाङबाट प्रदेशसभामा प्रत्यक्ष विजयी भए पनि सांसदको सपथ लिन नपाई कर्तव्य ज्यानमुद्दामा कारागार चलान भएका राजीव गुरुङ (दीपक मनाङे) धरौटीमा रिहा गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
सर्वोच्च अदालतले उनको मुद्दामा सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ।
न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले यसअघि उच्च अदालतले गरेको फैसला र सर्वोच्चले सदर गरेको फैसला मगाएको हो। सर्वोच्चले अर्को सुनुवाइमा उनलाई धरौटीमा छोड्ने वा नछोड्ने विषयमा निर्णय सुनाउनेछ। मुद्दाको अन्तिम फैसला गर्दा सर्वोच्चले मनाङेलाई सफाइ दिने वा यसअघि कै निर्णय सदर गर्ने भन्ने तय गर्नेछ।
कुनै समय एउटै समूहमा रहेका चक्रे मिलनलाई ज्यान मार्ने उद्योग गरेका अभियोगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला अनुरुप उनी हाल डिल्लीबजार थुनामा रहेका छन्। सोही फैसलालाई चुनौती दिँदै मनाङेले बिहीबार सर्वोच्चमा निवेदन दर्ता गराएका हुन्।
उच्च अदालतको मुद्दाको म्याद नै नपाएको र एकपक्षीय रुपमा फैसला भएको जिकिर उनको पुनरावेदनमा गरिएको छ। तत्कालीन समयमा अदालतले म्याद समेत आफूले नपाएको मनाङेको जिकिर छ। अदालतले मनाङेको निवास भन्दै काठमाडौंको नयाँ बजारमा म्याद तामेली गर्दै फैसला सुनाएको थियो।
पुनरावेदनले ५ वर्ष कैद हुने फैसला सुनाएपछि उक्त फैसलाविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन दर्ता गराएको थियो। मनाङे बाहेकका प्रतिवादीहरुको हकमा सरकारले सर्वोच्चमा पुनरावेदन गरेको हो।
उक्त निवेदनमा फैसला सुनाउँदै सर्वोच्चले प्रतिवादीहरु गणेश लामा लगायतलाई सफाइ दियो। आफूसँगै प्रतिवादी बनाइएका अन्य अभियुक्तकहरुले सफाइ पाएकाले उक्त अभियोगमा आफूमात्र दोषी नहुने मनाङेको दाबी छ।
उनले अदालती बन्दोबस्तीको १९४ को सुविधाअनुसार धरौटी बुझाएर थुनाबाहिर रही मुद्दाको पुनरावेदन गर्नसमेत माग गरेका छन्।
१० वर्षभन्दा कम सजाय हुने मुद्दामा धरौटीमा रिहा भई पुनरावेदन गर्न पाइने फैसला हालै सर्वोच्चले गरेको थियो। सोही फैसलामा टेकेर धरौटीमा रिहा भई मुद्दा लड्न पाउनुपर्ने जिकिर मनाङेको पुनरावेदनमा पनि गरिएको छ। उच्च अदालतको फैसलालाई सर्वोच्चले सदर गरेलगत्तै मनाङे भूमिगत भएका थिए। फरार रहेकै समयमा बैसाख ६ गते प्रहरीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको थियो। ज्यान मार्ने उद्योग मुद्दामा उनलाई ५ वर्ष जेल सजाय भएकोमा उनी २ वर्ष मात्र जेल बसेका छन्।
सर्वोच्चले उच्च अदालतको फैसला सदर गरे मात्र मनाङेले ३ वर्ष जेल सजाय भोग्नुपर्नेछ, नत्र उनी छुट्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।