काठमाडौं- रेल नेपालको आफ्नै हुन्छ कि हुँदैन भनी सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले शंका नगर्न भन्दै सँगै रेल चढ्न निम्तो दिएका छन्।
प्रधानमन्त्री कार्यालयको बजेटमाथि आज प्रतिनिधिसभामा सांसदहरुले राखेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा रेल लिकमै चल्ने बताए।
यस्तै, निषेधित क्षेत्रका विषयमा सांसदले उनलाई प्रश्न सोधेका छन्। अन्य देशमा पनि यस्तो हुने उदाहरण दिँदै उनले निश्चित क्षेत्रमा थितिमा बसेर विरोध गर्नुपर्ने भएकाले माइतीघरलाई निषेधित क्षेत्र तोकिएको बताए। विरोध गर्ने नाममा प्रधानमन्त्री कार्यालय र राष्ट्रपति भवनअगाडि अनसन बस्न नपाइने उनको भनाइ छ।
सांसदहरुले नेपालमा रेलमार्ग र यसको तयारी, कर्मचारी प्रदेश र स्थानीय तहमा नपुगेको र सरकारले वाक् स्वतन्त्रतामा बन्देज लगाउन खोजेको भन्दै उनलाई जिज्ञासा राखेका थिए।
— O —
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर
यस्ता छन् प्रधानमन्त्रीलाई सांसदको प्रश्न
प्रेम सुवाल, नेमकिपा : योजना आयोग, प्राधिकरण र पुरातत्व विभागले काम गर्न नसकेकाले तीन वटै खारेज गर्न उपयुक्त छ। मानव तस्करहरुले कुवेतमा खसीबोका झैं बिक्री गरेको र त्यसमा उच्च राजनीतिक संलग्न रहेको भनी गरेको प्रश्नमा श्रममन्त्रीले जवाफ नदिई गरिमामाथि नै प्रश्न उठाउनुभयो, के संसदको समितिको प्रतिवेदन झुट हो र?
दिलेन्द्रप्रसाद बडु, नेपाली कांग्रेस : नयाँ ढंगले जान खोजेको सरकार स्थानीय र प्रदेश तहमा कर्मचारी पठाउन असफल भएको हो? कर्मचारी पठाउन असफल भए पनि स्थानीय र प्रदेशमा पठाएको बजेट केन्द्रमा तान्ने प्रयासमा हिजोदेखि देखियो। कति वर्षमा कर्मचारीहरु उक्त क्षेत्रमा पुग्छन्? कर्मचारी खटाउन र सुशासनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय प्रधानमन्त्री कार्यालयमा गाभ्दा कसो होला?
रामबहादुर विष्ट, नेपाली कांग्रेस : प्रधानमन्त्री अन्तर्गत रहेको प्राधिकरणले गाउँमा १५ र सहरमा २५ लाख दिने भने थियो। यो पूरा भयो कि भएन? गाउँगाउँमा डोजर किन्दै विकास गर्दै भ्रष्टाचारमा लागेका छन्, यसमा कसले अनुगमन गरी कारबाही गर्ने हो?
बालकृष्ण खाँड, नेपाली कांग्रेस : हिजो सरकारले जनता भेला हुने नपाउने, बोल्न नपाउने गरी निषेधित क्षेत्र तोकिएको कुरा सार्वजनिक भयो? हिजो प्रधानमन्त्री पनि सोही ठाउँमा पुगेर आफ्ना कुरा राखेर भेला हुनुभएको होइन र?
मिनेन्द्र रिजाल, नेपाली कांग्रेस : रेल र कम्युनिष्टको रमाइलो कथा शोभियत युनियन रसियामा छ। पिकनिक पोलिटब्युरो बैठक रेलकै कारण रोकिएको हो लेनिनको पालामा। स्टालिनको पालामा ट्र्याक नभए पनि चलाए हुन्छ भन्ने रहेछ। ख्रुश्चेवको बेला अगाडि जान पर्दैन स्टार्ट गरिदिए पुग्छ भन्ने आएछ।
सांसदको प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ
विद्वान् भन्या विद्वान् नै हुन्छ, डाक्टर भन्या डाक्टरै हुन्छ। तिथिमिति समेत याद छ उहाँलाई। कहाँ कहिले लिकमा र ट्र्याकबिनै रेल हिँड्यो, ड्राइभर को थियो सम्म उहाँलाई याद छ।
नेपालमा रेल आउँछ, आफ्नो रेल आउँछ। आफ्नै रेल कुद्छ। मैले पहिलेपहिले पनि भनेको थिएँ। केही मान्छे अनौठो मान्छन्, केही मान्छे राम्रो कुरासँग पनि झस्किन्छन्। यो रेलसँग झस्किनेको मैले केही कुरा बुझेको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा को उड्छ नेपालमा, यो गरिब देशमा किन चाहियो पनि भनिन्थ्यो? अहिले सानो भएर हैरान छ। अन्य भागमा हामी बनाउँदैछौं। कोदारी राजमार्ग बन्दा उधुम भएको थियो। महेन्द्रले जवाफ दिँदा हैरान भएका थिए। रेल चढेर र गाडी चढेर कम्युनिष्ट आउने होइन। मोटर चढेर आएन। प्रतिबन्धित यहीँ थिए, उताबाट आउने होइन।
माथिरले मलेसियामा ट्वीन टावर बनाउँदा पैसाको दुरुपयोग भएको आरोप लागेको थियो, अहिले त्यो व्यापारिक भवन भएको छ।
मलेसियामा गेन्टिङ आइल्यान्ड भन्ने छ। त्यहाँ सहरभन्दा धेरै पैसा हालेर रुखो पहाड एउटा व्यापारीले किन्दा आलोचना भएको थियो। अहिले त्यो रमणीय पिकनिक स्पट भएको छ।
६ लेनको ४ लेखनको बाटो बनाउने भन्दा एकथरी महत्व नबुझेर यति ठूलो किन चाहियो भन्छ पछि त्यही सानो हुन्छ। केही नबुझेर पनि विरोध गर्छन्।
त्रिचन्द्र बनाउँदा चन्द्र शमशेरले आफ्नै खुट्टामा बञ्चरो हानेँ भनेका थिए। त्यो बुझेर यसो भनिएको थियो। विद्वान् मित्रहरुको विरोध त्रिचन्द्र कलेज नबुझे जस्तो हो कि गेन्टिङ आइल्यान्ड नबुझे जस्तो? मैले मेलो नपाएको कुरा यही हो।
योजना आयोग, पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग खारेज गर्नुपर्छ भन्ने कुरा आवेग वा उत्तेजनामा गरेर हुँदैन। स्थानीय निकायले गरिहाल्छ भनेर सोच्नु हुन्न। के गाविस अध्यक्ष पुरातत्वविद् हुन्छ कि उपाध्यक्ष पुरातत्वविद् हुन्छ? यसको काम कसले गर्ने हो, विज्ञता चाहिन्छ। देशभित्रका र विदेशका पुरातत्वको अध्ययन र अनुसन्धान गर्न आवश्यक हुन्छ।
नेपाल कृषिमा पछाडि परेको भनेर सरकारले गरेको भनी आलोचना गर्नु जरुरी छैन। यो सरकारले चार महिनामा पछाडि पारेको हो र? मैले पछाडि परेको कुरा स्वीकार गरेको छु, अब अगाडि बढाइन्छ भनेकै छु। अब विरोध किन खुसी हुनुपर्ने ठाउँमा! महिला हिंसा, मानव बेचबिखन लगायत अन्यमा सरकार शून्य सहनशील नीतिमा छ।
कतिपय देशमा महिला जान रोक लगाएको छ। फेरी लैङ्गिकमैत्री नीतिको सन्तुलन र अधिकार दिने कुरामा सरकार चनाखो हुन जरुरी छ।
कर्मचारी खटाउन असफल होइन अहिलेको सरकार सफल छ। अहिलेको सरकार कुनै पनि क्षेत्रमा असफल हुन जान्दैन र मान्दैन। कानुन बमोजिम चल्छ र चलाउँछ। भूकम्पपीडितको पुनर्निर्माणमा पहिले गति थिएन अहिले अगाडि बढेको छ। अब ६५ वर्षभन्दा माथिका वृद्धका लागि सरकारले निर्णय नगरीकनै पत्रपत्रिकामा प्रचार गरियो। सरकार निर्णय कार्यान्वयन गर्ने हो निर्णय नै नगरेको कुरा कसरी कार्यान्वयन गर्ने हो र?
निशेषित क्षेत्रमा अभिव्यक्ति र वाक् स्वतन्त्रता रोक्ने कुरा गरिएको होइन। अधिकारको प्रयोग विधि र कानुन समुचित रुपमा हुनुपर्दछ। भारतमा जानुभयो भने देख्नुहुन्छ कहाँकहाँ अनसन बस्न पाइन्छ? तोकेको छ। प्रधानमन्त्री कार्यालय अगाडि, राष्ट्रपति निवासअगाडि कहिले पनि विरोध प्रदर्शन गरेको देख्नुभएको छ? तर जन्तरमन्तरमा जानुस् त सधैं विरोध प्रदर्शन भइरहेको हुन्छ।
दुनियाँलाई दु:ख दिँदा विरोध हुने र नदिँदा नहुने होइन। तानाशाही ढाल्न जनता दरबारभित्र पनि पस्छन् तर लोकतन्त्रमा त्यस्तो हुँदैन। जतिबेला नेताहरुलाई निर्वासन गरिन्छ, प्रधानमन्त्रीलाई जेलमा हालिन्छ अनि विरोध सुरु हुन्छ। त्यो बेला र अहिलेलाई मिसाउन मिल्दैन। वाक् स्वतन्त्राका हकमा नियन्त्रण हुँदैन तर तिथिथिति अन्तर्गत हुनुपर्दछ।
अस्पतालभित्र नाराजुलुस, तोडफोड भइरहेका छन्। उपचार हुने ठाउँमा हड्ताल, विद्यालय अगाडि टियर ग्यास, यो चल्दैन। हिजो पनि हामीले यो गरेको होइन। हिजो लखेटेको थियो आज आरामसाथ गर्नुस् भनी तोकिदिएको हो। विरोध प्रकट गर्न दिनुपर्छ। सरकारले कान आँखा खोलेर हेर्न र सुन्न पर्दछ तर जे भए पनि लाचार छायाँ भएर सरकार बस्न सक्दैन। आफ्नो अधिकार प्रयोग गर्दा अर्कालाई बाधा गर्न पाइँदैन।
थिति हामीले बाँध्दै लानुपर्दछ। सरकार पनि आफ्नो पनि थितिमा बस्नुपर्छ। मन्त्री पनि थितिमा बस्नुपर्छ। बेलगाम कोही पनि बस्नु हुँदैन। हामीले बनाएका कानुन सबैलाई लागू हुनु पर्दछ। विकास हामी सबैको साझा हो यसमा अवरोध हुनु हुँदैन। अधिकार हामीले लडेर ल्याएको प्रिय वस्तु हो यसमा अवरोध हुनु हुँदैन। अधिकारको प्रयोगका नाममा यो वा त्यो प्रकारले हनन हुन सक्दैन।
जल्ले जे भने पनि हामी नेपालमा रेल लिकमै चलाउँछौ। डाक्टर नडाक्टर सप्पै हामी चढौंला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।