काठमाडौं– २०७२ को बैसाख १२ मा गएको विनाशकारी भूकम्पपछि पुनःनिर्माण सुरु भएका निजी घरको संख्या ५ लाख पुगेको छ। निजी आवासका लागि अनुदान सम्झौता गरेका कूल ७ लाख २० हजार ७ सय ४२ लाभग्राहीमध्ये ६९.४७ प्रतिशतले घर निर्माण सुरु गरेका हुन्।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार ५ लाख ७ सय ३६ घरको पुनःनिर्माण सुरु भएको छ। यसमध्ये १ लाख ९४ हजार ७ सय ३१ घरको पुनःनिर्माण भइसकेको छ।
सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ७३ हजार ४ सय १९ घरको पुनःनिर्माण सुरु भएको छ। त्यसैगरी, नुवाकोटमा ६४ हजार १ सय ६१, धादिङमा ५९ हजार ३ सय ९८, गोरखामा ५२ हजार ४ सय ४८, दोलखामा ५२ हजार २ सय ३५, काभ्रेपलाञ्चोकमा ४३ हजार ८ सय २, रामेछापमा ३८ हजार ३ सय ४२ घरको पुनःनिर्माण कार्य सुरु भएको प्राधिकरणले जनाएको छ।
अति प्रभावित जिल्लाहरुका अतिरिक्त कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माणले गति लिएको प्राधिकरणले दावी गरेको छ। कम प्रभावित जिल्लामध्ये लमजुङमा प्रभावितहरुले सबैभन्दा धेरै ४ हजार ७ सय ४५ घरको पुनःनिर्माण सुरु गरेका छन्।
त्यस्तै, दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्यामा पनि तीव्र बढोत्तरी भइरहेको छ। ४ लाख ५५ हजार ५ सय ८१ घर बनाउन लाभग्राहीहरु दोस्रो किस्ताका लागि प्रमाणीकरणमा परिसकेका छन्। तेस्रो किस्ताका लागि २ लाख ६ हजार ८ सय ९२ लाभग्राही योग्य भइसकेको प्राधिकरणको तथ्यांक छ।
निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलब्धताका साथै केही नीतिगत व्यवस्थामा गरिएका सुधारका कारण निजी आवास पुनःनिर्माणमा तीव्रता आएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले बताए।
पछिल्लो समय गुनासो सम्बोधनबाट लाभग्राहीको संख्या पनि थपिएको छ। प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार अहिलेसम्म गुनासो दर्ता गरेकामध्ये ३३ हजार ४ सय ३१ लाभग्राहीले पुनःनिर्माणका लागि स्वीकृति पाएको बताउँछन्।
भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापत १ लाख ५० हजार पाउँछन् भने तेस्रो किस्ताबापत १ लाख रुपैयाँ पाउँछन्।
हालसम्म घर निर्माणकाे तथ्यांक:
- पुनर्निर्माण भइरहेका घरको संख्याः ५,००,७३६
- पुनर्निर्माण सम्पन्न भएका घरको संख्याः १,९४,७३१
- लाभग्राही सुचिमा परेका कुल संख्याः ७,८१,७३३
- प्रबलीकरण सुचिमा परेका लाभग्राही संख्याः २९,४९३
- अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्याः ७,२०,७४३
- पहिलो किस्ता लिएका लाभग्राही संख्याः ७,१२,०१३
- दोश्रो किस्ताका लागि प्रमाणिकरण गरिएकाः ४,५५,५८१
- तेश्रो किस्ताका लागि प्रमाणिकरण गरिएकाः २,०६,८९२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।