काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अधिकारीको सरुवा र बढुवाको बचाउ गरेका छन्। विवादास्पद प्रहरी अधिकारीहरुलाई अग्रसूचीमा राखेर बढुवा गरेको तथा सरुवामा पनि विगत कारबाहीमा परेकाहरुलाई जिल्ला इन्चार्जमा पठाइएको आलोचना भइरहेका बेला खनालले क्षमताकै आधारमा सरुवा बढुवा गरिएको बताएका हुन्।
बिहीबार प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो कुरा आउँछ भन्ने आँकलन पहिले नै थियो मलाई। एसपी बढुवामा सिट २८ अनि एउटै ब्याचमा धेरै थिए। धेरै पटकको छलफलबाट निर्णय लिइएको हो। जसको नाम बढुवामा पछि पर्यो भनिएको छ, उनीहरुले त मलाई भेटेर बढुवा गरेकोमा धन्यवाद दिएका छन्, कसरी असन्तुष्ट भए थाहा छैन।’
सरुवामा पनि १-२ व्यक्तिलाई चाँहि आफूले नपठाउन पाए पनि हुन्थ्यो भन्ने लागेको उनले सुनाए। ‘हेटौंडाको एसपीलाई त फिर्ता बोलाइसकेको छ,’ उनले भने, ‘अरु पनि नराम्रो गर्नेहरु तानिन्छन्।’
कार्यक्रममा उनले आफू आइजिपी भएपछि गरेका काम र भावी योजनाबारे पावर प्वाइन्टमार्फत प्रस्तुतीकरण गरेका थिए।
लामो समयदेखि रोकिएको बढुवा अघि बढाएको तथा अपराध अनुसन्धानमा थप सफलता मिलेको उनको दाबी छ।
सुन तस्करी प्रकरणमा आइजिपीले अडान लिन नसक्दा अनुसन्धान अधिकृतहरु समेत फसेको विषयमा राखिएको जिज्ञासामा उनले विशेष अनुसन्धान टोली गठन भएर छुट्टै अनुसन्धान भइरहेकाले त्यसमा आफ्नो भूमिका नहुने बताए।
४ वटा वाटर किन्ने र सबै प्रदेशमा चालकलाई रिफ्रेसिङ सेन्टर स्थापना गर्न लागिएको उनले जानकारी दिएका छन्।
आइजिपी भएपछि खनालले पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।