काठमाडौं– गृह मन्त्रालयको योजनाअनुसार काठमाडौं जिल्लाभित्र ७ ठाउँमा विरोध प्रदर्शनस्थल तोकिएको छ। त्यसबाहेक अन्यत्र विरोध प्रदर्शन गरे साउन १ गतेदेखि पक्राउ गरिने गृह मन्त्रालयले जनाएको छ।
बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुशासन र सुव्यवस्थानका लागि विरोध प्रदर्शनस्थलहरु तोकिएको बताए। जभाभावी विरोध प्रदर्शन गर्दा सर्वसाधरणहरु त्यसबाट प्रभावित भएकाले व्यवस्थित गरिएकाले यसलाई सकारात्मक रुपमा लिएर सहयोग गर्न उनले आग्रह गरे।
विवेकशील साझा पार्टी, नागरिक अभियन्ता डा गोविन्द केसी लगायतले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरिएकोमा विरोध गर्दै आएका छन्। सरकार अधिनायकवादतर्फ अघि बढेको समेत उनीहरुले आरोप लगाएका छन्।
यस सम्बन्धनमा पत्रकारको जवाफमा गृहमन्त्री थापाले भने, ‘मलाई यही केटी चाहिन्छ भन्नु पनि अधिनायकवाद हो, यही ठाउँमा विरोध गर्न पाउनुपर्छ भन्ने हठ पनि अधिनायकवाद नै हो।’
कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले माइतीघरलाई विरोध प्रदर्शनस्थलबाट हटाउनुका कारणबारे स्पष्ट पारेका थिए।
माइतीघर अत्यधिक व्यस्त सडक भएकाले सर्वसाधरणको आवातजावतलाई सहज बनाउन, शान्ति सुरक्षलाई चुस्त बनाउन तथा माइतीघरको सुन्दरता जोगाउन त्यहाँ विरोध प्रदर्शन गर्न रोकिएको उनको भनाइ छ। ‘माइतीघरलाई यो अवस्थामा ल्याउन राज्यले धेरै मूल्य चुकाएको छ,’ प्रजिअ शर्माले भने, ‘हामीले अन्तर्राष्ट्रिय अभ्यासको पनि अध्ययन गर्यौं, धेरै देशले सर्वसाधरणलाई असर नपर्ने ठाउँहरुलाई विरोध प्रदर्शनस्थल तोकिरहेको रहेछ, हामीले पनि सहरलाई व्यवस्थित गर्न खोजेका हौं।’
कहाँकहाँ तोकियो प्रदर्शनस्थल?
जिल्ला प्रशासन कार्यालय काठमाडौंले खुलामञ्च, तीनकुने खुल्ला चौर, भुइँखेल चौर भगवान पाउ, पेप्सीकोला मैदान, सानो गौचरन फुटबल मैदान, लैनचौर, 8 कल्याण अगाडिको चौर र सिफल चौरलाई भने प्रदर्शन स्थल तोकेको छ।
त्यस्तै ललितपुरमा च्यासल मैदान, गोदावरी बसपार्क नजिक, बज्रबाराही मन्दिर नजिकैको खाली ठाउँ लगायत ६ स्थानमा प्रदर्शन गर्न पाइन्छ। भक्तपुरमा सल्लाघारीस्थित नेपाल ट्रस्टको जग्गालाई विरोध प्रदर्शनस्थल तोकिएको छ।
गृह मन्त्रालयको योजनाअनुसार ७७ जिल्लामा नै साउदेखि लागू हुने गरी प्रदर्शनस्थल तोकेर कार्यान्वयन गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।