काठमाडौं- आज बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता स्विकृत गर्ने निर्णय गरेको छ। युरोपियन युनियनको यो अनुदान सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च हुने सरकार प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
त्यसैगरी बिमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली– २०७५, वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका पनि स्विकृत गरिएको छ। मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धि ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय पनि गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाल र बंगलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गर्न स्विकृति प्रदान गरेको छ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ। ओलीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा अन्त्यन्तै सफल रहेको बैठकले निष्कर्ष निकालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।