काठमाडौं– नेपालमा ‘फ्रि तिब्बत’सम्बन्धि गतिविधि गर्दै आएको संस्थाको कार्यक्रममा अतिथि बनेका महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राईमाथि छानबिन सुरु भएको छ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले उनीमाथि छानबिन अघि बढाएको हो।
‘समाचार आएपछि हामीले छानबिन थालेका छौं,’ महानगरीय प्रहरी आयुक्त डिआइजी मनोज नेउपानेले भने,‘अनुसन्धानमा दोषी देखिए कारबाही गर्छु।’
निर्वाचित तिब्बती धर्मगुरु कर्मापा लामाको ३३ औं जन्मोत्सवको अवसरमा बौद्धमा आयोजित एक कार्यक्रममा मंगलबार डिएसपी राई अतिथी बनेर गएका थिए। जबकी उनको जन्मोत्सवमा तिब्बती शरणार्थीहरुले चीन विरोधी गतिविधि गर्न सक्ने आशंकामा चिनियाँ दुतावास लगायतका ठूलौ संख्यामा प्रहरी खटाइएको थियो। बौद्ध वृत्तलाई पनि सुरक्षा सर्तकता अपनाउन भनिएको थियो। तर, डिएसपी राई भने कर्मापा सेवा 8ले आयोजना गरेको कार्यक्रममा अतिथि बनेका हुन्।
तिब्बती बौद्ध धर्ममा कर्मापा लामा दलाई लामापछिको दोस्रो ठूलो पद हो। जून पदमा हाल थाये दोर्जे छन्। उनै दोर्जेको ३३ औं जन्मोत्सव नेपालमा पनि तिब्बती शरणार्थीहरुले मनाएका थिए।
जन्मोत्सव मनाउने नाममा फ्रि तिब्बतसम्बन्धि गतिविधि हुनसक्ने भएकाले चिनियाँ दुतावास लगायत ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो। डिएसपी राईले भने सो संस्थाको बारेमा आफुलाई धेरै जानकारी नभएकाले गएको बताएका छन्। उनीसहित काठमाडौं महानगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष दीपेन्द्रकुमार लामा पनि अतिथि बनेका थिए।
कर्मापामा नियुक्त थाये सन् २०५८ सालको पुसमा नेपाल हुँदै भारत पुगेका थिए। १ वर्षपछि भारतमा उनले शरणार्थीको मान्यता पाएका थिए। प्रवचनका लागि उनी अमेरिका तथा यूरोपमा देशहरु जाने गरेका छन्। उनी भारतको धर्मशालामा दलाई लामासँगै बस्दै आएका छन्। हाल उनी अमेरिका पुगेका छन्।
कर्मापाको नाममा नेपालमा गठन गरिएका कर्मापा सेवा 8 लगायत संस्थाहरु फ्रि तिब्बत गतिविधिसम्बन्धि गतिविधिमा संलग्न रहेको गृह मन्त्रालयकै प्रतिवेदनमा उल्लेख छ। नेपालले एक चीन नीति लिएकाले फ्रि तिब्बतसम्बन्धि गतिविधि नियन्त्रण गर्दै आएको छ।
सम्बन्धित समाचारः‘फ्रि तिब्बत’ पक्षधरको कार्यक्रममा डिएसपी र वडाध्यक्ष अतिथि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।