राजविराज– दशगजा क्षेत्रमा नदीको बहाव थुन्नेगरी निर्माण भएका संरचनाका कारण नेपाल तथा भारतीय क्षेत्रको भूभाग डुबानमा पर्ने समस्याको दीर्घकालीन समाधान खोज्न दुवै देशको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन सुरु गरेको छ।
टोलीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित दशगजा क्षेत्रको बुधबार अनुगमन गरेको छ। सो क्षेत्रमा खाँडो खोलामा भारतीय पक्षले निर्माण गरेको बाँधका कारण बर्सेनि नेपाली भूभाग डुबानमा पर्ने गरेको छ भने सोही बाँधका कारण बेलाबखत नेपाली र भारतको कुनौलीका नागरिकबीच झडपसमेत हुने गरेको छ।
अध्ययनका क्रममा जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप थापाले दशगजाको संरचनाका कारण नदीको बाढी थुनिएर डुबानमा पर्ने पूर्वी तराईका नदीहरुको स्थायी निकास खोजीने बताए।
भारतको केन्द्रीय जलसंशाधन विभागका निर्देशक अजयकुमारले पनि बाढीका कारण पूर्वी नेपालमा हुने गरेको जनधनको क्षतिलाई न्यून गर्न अध्ययनले सहयोग गर्ने दाबी गरे। ‘भारत सरकार पनि बाढीका कारण उत्पन्न समस्या समाधानका लागि तत्पर छ,’ उनले भने, ‘अध्ययनको रिपोर्ट दुवै देशको सरकारलाई बुझाएपछि के गर्ने भन्ने विषयमा निर्णय हुन्छ।’
नेपाल-भारतबीच खाँडो खोला समस्या समाधानका लागि यसअघि भएका सम्झौतासमेत कार्यान्वय नभएका बेला टोलीले पुनः स्थलगत अनुगमन सुरु हो।
सीमावर्ती कुनौलीबाट दशगजा हुँदै खाँडोको पानी भलुवाही खोलामा खसाउने गरी नेपाल भारतबीच यसअघि बनेको संयुक्त कार्ययोजना हालसम्म कार्यान्वयन भएको छैन।
सम्झौता अनुसार आव २०७२/०७३ मा दुवैतिरबाट सर्वे भए पनि काम अघि नबढेको खाँडो खोला नियन्त्रण आयोजनाका प्रमुख विष्णुदेव यादव बताउँछन्। उनी भन्छन्, ‘हरेक पटक हुने दुईदेशीय बैठकमा हामीले कुरा उठाउँछौं, तर उनीहरुले चासो दिदैनन्।’
भारतीय पक्षले प्रत्येक संयुक्त बैठकमा योजना अध्ययन गरिरहेको भन्दै झारा टारिरहेको नेपाली पक्षले गुनासो रहने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।