काठमाडौं- सरकारले आन्तरिक श्रम बजारलाई व्यवस्थापन गर्दै लैजान दक्ष श्रम शक्ति उत्पादनका लागि १० वर्षीय गुरुयोजना ल्याउने भएको छ।
संसदमा मन्त्रालयको बजेट विनियोजनमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आन्तरिक श्रम बजारमा आवश्यक पर्ने श्रम शक्ति उत्पादनका लागि विशेष गुरुयोजना ल्याउने जानकारी गराएका हुन्। सरकारले बाल श्रम रोक्न बाल गुरुयोजना ल्याउन लागेकोबारे पनि उनले संसद्लाई जानकारी गराए।
यस्तै, मन्त्री विष्टले वैदेशिक रोजगारी क्षेत्रका ठगी नियन्त्रण गर्न अबको २० दिनभित्र विशेष अनलाइन प्रणाली सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए। उक्त अनलाइन प्रणालीमा वैदेशिक रोजगार विभाग, श्रम कार्यालय, राहदानी विभाग र कूटनीतिक नियोगसँग जोडिनेगरी काम भइरहेको उनले उल्लेख गरे।
सरकारले केही महिनापछि सात वटै प्रदेशबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृतिको व्यवस्था गरिने मन्त्री विष्टले बताएका छन्। यस्तै, प्रत्येक प्रदेशमा सिपमूलक तामिल केन्द्र सञ्चालनमा ल्याउनेबारे पनि जानकारी गराए।
वार्षिक ५ लाख नयाँ श्रम शक्ति कामको खोजीमा श्रम बजारमा आउने गरेको र यसमध्ये २० प्रतिशतले आन्तरिक श्रम बजारमा काम पाउने गरेको मन्त्री विष्टको भनाइ छ। नेपालमा पूर्ण बेरोजगार २० प्रतिशत र अर्ध बेरोजगार ३० प्रतिशत रहेको भन्दै उनले आन्तरिक श्रम बजारभित्रै नेपाली युवालाई रोजगारी दिलाउनेगरी योजना बनाइरहेको बताए।
नेपाल सरकारले क्यानडा, जापान लगायत नयाँ रोजगारदाता देशसँग कामदार आपूर्ति गर्ने विषयमा छलफल चलाइरहेको पनि उनले संसद्समक्ष उल्लेख गरे। मन्त्रालयले वैदेशिक रोजगारीमा घरेलु महिला कामदार पठाउन तत्काल खुला नगर्ने पनि उनले बताए।
मन्त्री विष्टले वैदेशिक रोजगारीका नाममा विकृति फैलाउनेहरुलाई सरकारले नछाड्ने चेतावनी समेत दिएका छन्।
कामदार ठगिने क्रम जारी रहेको भन्ने सांसदको प्रश्नमा उनले भने, 'वैदेशिक रोजगारीमा जाने कामदारलाई ठग्ने कसैलाई पनि छुट हुँदैन।'
यस्तै, मन्त्री विष्टले विदेशका जेलमा र अस्पतालमा उपचार गराइरहेका नेपाली कामदारलाई स्वदेश फर्काउनेबारे काम भइरहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।