काठमाडौं– नक्कली प्रज्ञापनपत्र बनाएर पाउडर दुध तस्करी प्रकरणमा नेपालगञ्जस्थित भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यलाई अर्थ मन्त्रालयले हटाएको छ। तस्करीमा मिलेमतोको तथ्य भेटिएपछि उनलाई हटाइएको हो।
उनीसहित भन्सार अधिकृत बटु पौडेललाई पनि हटाइएको छ। आचार्यलाई मन्त्रालयमा तथा पौडेललाई भन्सार विभागमा सरुवा गरिएको छ।
गत साता नेपालगञ्ज भन्सारबाट पास भएको एउटा ट्रक कलंकीमा समातिएको थियो। नक्कली प्रज्ञापनपत्रका आधारमा भन्सार कार्यालयले सो ट्रक भन्सारबाट पास भएको थियो।
भन्सार कार्यालयको चरम लापरबाही देखिएपछि अर्थ मन्त्रालयले सहसचिव झक्क आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले भन्सार कार्यालयमा गएर स्थलगत रुपमा अनुसन्धान गरी प्रतिवेदन दिएको थियो। प्रतिवेदनका आधारमा भन्सार प्रमुखलाई हटाइएको हो। अनुसन्धानको क्रममा ५÷६ महिनादेखि नै त्यसरी नक्कली प्रज्ञापनपत्रका आधारमा नेपालगञ्ज भन्सारबाट मालबहाक ट्रक छाडिने गरिएको खुलेको छ। कर्मचारीको मिलेमतो बिना त्यसरी पटक पटक नक्कली प्रज्ञापनपत्रका आधारमा तस्करी सम्भव नभएको प्रतिवेदनका आधारमा उनीहरु तानिएका हुन्।
राजश्व अनुसन्धान विभागले पनि घटनाको अनुसन्धान अघि बढाइएको छ। तस्करी गर्ने चालक पक्राउ परेपनि मुख्य व्यापारी पक्राउ नपरेकाले कर्मचारीसँगको मिलेमतो खुल्न सकेको छैन।
र्मचारीको मिलेमतो खुलेमा मतियारका रुपमा कर्मचारीलाई समेत राजश्व चुहावट नियन्त्रण ऐनअनुसार मुद्दा चल्ने विभागका कर्मचारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।