काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा मंगलबार असहज वातावरण थियो। विभिन्न गन्तव्यका लागि विमानस्थल पुगेका यात्रुको बीचमा विदेशमा ज्यान गुमाएका कामदारको शव बुझ्ने आफन्तजन शोकमा थिए।
उनीहरुले वैदेशिक रोजगार सूचना कक्षसँगै रहेको शव प्रतीक्षालयमा पर्खिरहँदा चार नेपालीको शव कफिनमा आइपुग्यो।
धनुषाका सञ्जय दास तत्मा (मलेसिया), तनहुँका खुमबहादुर गुरुङ (कुवेत), झापाका सुजन राजवंशी (कतार) र गुल्मीका दानबहादुर पौडेल (कुवेत) को शव नेपाल ल्याइएको हो।
चार जनाकै वैदेशिक रोजगारीका क्रममा ज्यान गएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ। रोजगारीमा गएका नेपाली युवाको शव भरिएको कफिन विमानस्थलमा दिनहुँ कसै न कसैको आइरहेको हुन्छ। यसै क्रममा मंगलबार एकैदिन फरक–फरक समयमा ४ वटा कफिन आएको हो।
कतारमा रहेका सुजन राजवंशी काम गरेर कोठामा फर्किएपछि मृत्यु भएको खबर आएको झापाबाट शव बुझ्न आएका उनका काका वानु राजवंशीले बताए। २४ वर्षीय सुजन ६ महिनाअघि ड्राइभर भिसामा कतार गएका थिए। काका वानुका अनुसार, उनले आमालाई घरमा पैसा पठाइदिने भनेर फोनमा गफ गरेको र त्यसको केही घन्टापछि नै मृत्युको खबर आएको थियो।
यस्तै, मलेसियामा ज्यान गुमाएका धुनषाका सञ्जय दास तत्मा करार अवधि सकिएर घर फर्किने समय भएको थियो। केही दिनपछि घर आउँछु भनेका तत्माको मृत्युको खबर आएको शव प्रतीक्षालयमा भेटिएका उनको ज्वाइँ रविन दासले बताए। ४२ वर्षीय तत्मा ३ वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए।
असारको दुई सातामा रोजगारीका क्रममा मृत्यु भएका १३ श्रमिकको शव नेपाल आएको बोर्डको तथ्यांक छ। बोर्डका अनुसार, चालू आर्थिक वर्षको ११ महिनामा खाडी मुलुक, मलेसिया र अन्य देश पुगेका ७ सय ७७ नेपालीको मृत्यु भएको छ। यो अवधिमा सबैभन्दा धेरै मलेसियामा नेपाली श्रमिकले ज्यान गुमाएका छन्।
मृत्युको ‘कारखाना’
बितेको ९ वर्षको अवधिमा विभिन्न देशमा रोजगारीका लागि गएका ५ हजार ९ सय ९२ जना नेपाली कामदारको मृत्यु भएको तथ्यांक वैदेशिक रोजगार प्रवर्द्धन बोर्डसँग छ। तीमध्ये एक सय ४० जना महिला छन्।
उक्त तथ्यांकमा सबैभन्दा बढी मलेसियामा २ हजार एक सय ५४, साउदी अरबमा १ हजार ६ सय ३८, कतारमा १ हजार दुई सय ३, यूएईमा ४ सय २७ र कुवेतमा एक सय ८६ जनाको मृत्यु भएको थियो। बाँकी श्रमिकको अन्य मुलुकमा मृत्यु भएको हो।
सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले नेपाली श्रमिकले विदेशमा ज्यान गुमाउने गरेका छन्। आत्महत्या र सडक दुर्घटनाबाहेक स्वास्थ्यमैत्री जीवनशैली नहुँदा र नियमित स्वास्थ्य परीक्षण सुविधा नपाउँदा हृदयाघातका कारण ज्यान जाने गरेको छ।
वैदेशिक रोजगारीमा जानुअघि त्यस देशको नियम–कानुनबारे पर्याप्त जानकारी नहुँदा पनि श्रमिकले ज्यान गुमाउने गरेका छन्। त्यसमध्ये ट्राफिक नियम पनि एक हो। रोजगारीमा गएका कामदारले त्यो देशको ट्राफिक नियमबारे राम्रो सूचना नहुँदा सडक दुर्घटनामा पनि ज्यान गुमाउने गरेका छन्।
जथाभावी बाटो काट्ने, तीव्र गतिमा गाडी कुदाउने जस्ता कारण धेरैको ज्यान गएको विभिन्न अध्ययनले देखाएका छन्। यसरी ज्यान गुमाउने कामदारका परिवारलाई सरकारले क्षतिपूर्तिवापत १७ लाख दिने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।