काठमाडौं– असार ६ देखि १० सम्म चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओलीले त्यसबारे मंगलबार सदनलाई जानकारी दिएका छन्।
प्रधानमन्त्रीले चीन भ्रमणका उद्देश पूरा भएकोमा खुसी व्यक्त गरे। भ्रमणअघि संसदमा उल्लेख भन्दा बढी उपलब्धी भएको उनले बताए। 'मैले चीन भ्रमणमा जानुअघिको त्यसको उद्दश्यका बारेमा बताएको थिएँ', प्रधानमन्त्रीले भने, 'भ्रमणका उद्देश्यहरु मूलतः पूरा भएको छ।'
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा भएका विभिन्न सम्झौताबारे सदनलाई जानकारी दिएका छन्।
प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइएको र उच्च चिनियाँ पक्षबाट चाँडै नेपालको भ्रमण हुने विश्वास व्यक्त गरे। 'भ्रमणका क्रममा मैले सम्माननीय राष्ट्रपतिको तर्फबाट चिनियाँ राष्ट्रपति र मेरो तर्फबाट चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको छु', प्रधानमन्त्रीले भने, 'चीनको उच्च राजनीतिक नेतृत्वबाट चाँडै नै नेपालको भ्रमण हुने अपेक्षा राखेको छु।'
प्रधानमन्त्रीले छिमेकीहरुसँग सम्बन्ध सुधार गरेको बताए। उनले कसैका विरुद्ध कसैको कार्ड प्रयोग नगर्ने सदनलाई जानकारी दिए। 'हामी क्षणिक हिसाबले कसैका विरुद्ध, कुनै प्रकारले, एउटाका विरुद्ध अर्काका कार्ड खेल्ने, एउटाका विरुद्ध अर्कालाई उचाल्ने अथवा तात्कालिक हितका निम्ति गैरजिम्मेवार तरिकाले चल्दैनौं', प्रधानमन्त्रीले भने, 'हामी हाम्रा दुवै छिमेकीहरुसँग विश्वासयोग्य, भरपर्दो र पारस्परिक सहयोग र सहकार्यको वातावरण निर्माण गर्न चाहन्छौं। हाम्रा विकासका प्रयासहरुमा छिमेकीहरुलाई साथै लिन चाहन्छौं र उहाँहरुका विकास, उन्नति र प्रगतिबाट लाभान्वित पनि हुन चाहन्छौं।'
प्रधानमन्त्रीले छिमेकीका संवेदनशीलता, जायज चासो र चिन्तालाई बुझेको बताए। 'हामी यता वा उता ढल्किने गर्दैनौं', प्रधानमन्त्रीले भने, 'हाम्रा स्पष्ट नीतिहरु छन्। हामी पञ्चशील र पारस्परिक लाभ र स्वाभिमानका आधारमा, राष्ट्रिय हितलाई हेरेर अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्छौं। हामी कहीँ पनि शान्तिको पक्षमा छौं। समझदारीको पक्षमा छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।