काठमाडौँ- उडान तथा विशान (पार्किङ) का लागि लिएको अनुमतिको प्रावधान पालना नगरेकाले निजी वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको दायरामा ल्याउने भएको छ।
अनुमति लिँदा कुनै एक विमानस्थललाई आधार बनाएर उडान गर्ने भनिए पनि अधिकांश विमान काठमाडौँमा नै केन्द्रित भएपछि प्राधिकरण कारबाहीका लागि अग्रसर भएको हो। प्राधिकरणले यही असार १७ गतेभित्र तोकिएको शर्त पूरा नगर्ने विमान कम्पनीलाई कारबाही गर्ने आशयको पत्र पठाएको छ।
प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले वायु सेवा सञ्चालन प्रमाणपत्रमा उल्लेख भएअनुसारको शर्त पालना नगर्नेलाई कारबाही गरिने बताए।
अधिकांश विमान कम्पनीले उपत्यका बाहिरका विमानस्थललाई बेस बनाएर उडाउने तथा बिसान गर्ने प्रतिबद्धता जनाएका छन्। तर सो प्रतिबद्धता पालना हुन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिसानका लागि स्थान अभाव रहेको, जहाजको संख्या थपिँदै जाँदा उडान तथा अवतरणमा समेत समस्या पैदा भएको छ।
विमानस्थलमा आन्तरिकतर्फ ३० वटा जहाज पार्किङ गर्न सकिन्छ। यस्तै अन्तर्राष्ट्रियतर्फ ६ वटा मात्रै विमान पार्किङ गर्न सकिने अवस्था छ।
प्राधिकरणले उडान अनुमति लिँदा गर्छु भनेर जनाएको प्रतिबद्धता पालना गर्नुपर्ने र त्यसमा कुनै पनि तलमाथि हुन नसक्ने जनाएको छ। नयाँ नियमानुसार बुद्ध एयरले विराटनगर विमानस्थलमा पार्किङ गर्नुपर्नेछ। यस्तै श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा पार्किङ गर्नुपर्नेछ।
यस्तै उडान तथा अवतरणलाई व्यवस्थित बनाउन निजी वायुसेवा प्रदायकलाई जिम्मेवार बनाउन लागिएको प्राधिकरणले जनाएको छ।
'एओसीप्राप्ति कुन सर्तमा छ र उनीहरुले त्यो पालना गरेका छन् कि छैनन्, यदि नगरेका भए अब कारबाहीको भागिदार बन्नुपर्छ,' उपमहानिर्देशक पोखरेलले भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि यही असार १७ गतेदेखि लागू हुनेगरी सम्बन्धित विमान कम्पनीलाई परिपत्र गरेको छ।
परिपत्रलाई अटेरी गरे सम्बन्धित विमान कम्पनीको उडान रद्द गरिनेछ। जस्तो कुनै वायुसेवा कम्पनीले चार वटा विमानमध्ये दुई वटा उपत्यकाबाहिर क्षेत्रीय बेस बनाउने भनेर अनुमति लिएको छ भने सोहीअनुसार नै नियम पालना गर्नुपर्छ।
निजी वायुसेवा प्रदायले पनि प्राधिकरणको नियमलाई भने कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरुले विमानस्थलको अवस्था, पार्किङ क्षमता र उडान तथा अवतरणको अवस्थालाई हरेर नै प्राधिकरणले परिपत्र गरेको भन्दै यसको पालना गर्ने जनाएका हुन्।
यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले अहिले आफूहरुको ८ विमान रहेको र ती सबै विमान सबै काठमाडौँमै पार्किङ गर्ने अनुमति लिएको बताए।
यति एयरको ६ वटा जेटस्ट्रिम र २ एटीआर विमान छन्। थप विमानका सम्बन्धमा प्राधिकरणले जुन खालको स्वीकृति दिन्छ सोहीअनुसार व्यवस्थापन गरिने व्यवस्थापक राईको भनाइ छ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले आफ्ना कम्पनीका सबै विमानको बेस काठमाडौँ नै रहेको बताए। आगामी दिनमा विमान थपिएको अवस्थामा एओसीको मापदण्डअनुसार विमान व्यवस्थापन गरिने उनको भनाइ छ।
बुद्ध एयरसँग हाल थपिन लागेको एक विमानसँगै ९ वटा एटीआर र २ जेटस्ट्रीम विमान छन। यीमध्ये ६ एटीआर–७२ र दुई एटीआर–४२ विमान छन्।
श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले आफ्ना ४ विमानमध्ये २ वटा जहाजको बेस काठमाडौँ र दुईको उपत्यका बाहिर रहेको बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालन विभागका प्रमुख सुरेशमान सिंहले पनि असार १७ गतेदेखि लागू हुने गरी विमान कम्पनीलाई पत्राचार गरिएको र बाध्यकारीरुपमा कार्यान्वयन गर्नैपर्ने बताए।
'अनुमति लिँदा जुन विधि र शर्त पालना गर्छौं भनेर प्रतिबद्धता जनाएका छन्, त्यो पालना हुनैपर्छ,' सिंहले भने।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।