काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विशेष समयमा संसदमा उठेका विषयमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको बैठकको विशेष समयमा उठेका प्रश्नहरुको विषयमा सरकारका मन्त्रीबाट जवाफ आउनुपर्ने भन्दै अध्यक्ष तिमल्सिनाले सरकारको ध्यानाकर्षण गराएका हुन्। विशेष समयमा सांसदले मुलुकले भोग्नुपरेका समस्या र समसामयिक विषयलाई उठान गर्दै आए पनि त्यसको जवाफ नआएको भन्दै प्रश्न गरेपछि उनले सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै सांसद खिमलाल भट्टराईले सुकुम्बासी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरे।
सांसद अनिता देवकोटाले संविधानप्रदत्त अधिकारलाई कार्यान्वयन गर्न छिटो विधेयक ल्याउन माग गरिन्। यस्त, सांसद रमेशप्रसाद यादवले चिनी मिलले उखुको भुक्तानी नदिँदा तराई मधेसका उखु किसान समस्यामा परेको बताए।
सांसद रामनारायण विडारीले स्थानीय र प्रदेश सरकारलाई कानुनको अभावमा आफ्नो काम सम्पादन गर्न कठिन परेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रियसभाको अर्को बैठक असार १४ गते बिहीबार १ बजे बस्नेगरी स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।