ल्हासा- चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली उनको सम्मानमा नेपाली महावाणिज्यदूतावास ल्हासाले शनिबार आयोजना गरेको रात्रिभोजमा सरिक भएका छन्।
नेपाली वाणिज्यदूत गोविन्दबहादुर कार्कीले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल र ल्हासामा रहेका नेपालीको समेत सहभागिता थियो। रात्रिभोज प्रधानमन्त्री ओली बसेको होटल सांग्रिलामा आयोजना गरिएको थियो।
प्रधानमन्त्री ओलीले सो अवसरमा नेपाली समुदायसँग संक्षिप्त छलफल गरेका थिए। प्रधानमन्त्री ओलीका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका विभिन्न आयाममाथि प्रकाश पारेका थिए।
यस्तै, तिब्बत जनसरकारका उपमन्त्री लिउ झाङले नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै आगामी दिन सम्बन्धलाई थप मित्रवत् र प्रगाढ बनाउँदै लैजाने वचनबद्धता प्रकट गरेका थिए।
पोताला दरबारको अवलोकन
नेपाली प्रतिनिधिमण्डलले शनिबारै पोताला दरबार र जोखान मन्दिरको भ्रमण गरेको थियो। गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायतका नेपाली प्रतिनिधि भ्रमणमा सहभागी थिए।
विश्व सम्पदा सूचीमा सन् १९९४ मा सूचीकृत पोताला दरबार राजा स्रङचङ गम्पोले एक हजार ३ सय वर्षअघि निर्माण गरेका थिए। यस्तै, विश्व सम्पदा सूचीमा रहेको जोखान मन्दिर तिब्बतको प्रमुख आर्कषण हो।
चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आइतबार बिहान स्वदेश फर्कने कार्यक्रम छ।
हरि लामिछाने/ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।