काठमाडौं- नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा उपसभापतिको उम्मेदवार रहेका नेता चन्द्र भण्डारीले निर्वाचनमा शेरबहादुर देउवापक्षले सत्ता 'मनी र मसल' को प्रयोग गरेको आरोप लगाएका छन्।
उनले शक्तिशाली परिवारका मानिसहरु कसरी सत्ताको प्रयोगमा ढले भन्नेसमेत देखिएको बताए।
सभापतिका उम्मेदवार डा कोइरालाको तर्फबाट महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजित कार्यक्रममा भण्डारीले सभापतिका उम्मेदवार रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधितर्फ लक्षित गर्दै पुरानो विरासत पनि देखिएको टिप्पणी गरे।
कांग्रेसको १५ औं महाधिवेशनमा यी सबै विषयमा प्रतिनिधिले हिसाब गर्ने उनको भनाइ थियो।
‘यो सरकारकार हुँदैन थियो भने हामीले जिति सकेका हुने थियौं’ उनले भने, ‘मनी र मसल हुँदैन थियो भने अहिलेको नतिजा आउँदैन थियो। अब यसको हिसाब १५ औं महाधिवेशनमा देखाउने छौं।’
उनले कांग्रेस नयाँ बनाउन खोजिएको भए पनि १४ औं महाधिवेशनमा सम्भव नभएको उनले बताए। ‘आज सत्ता र शक्ति छ। यो सत्ता र शक्तिकाबीच कति शक्तिशाली व्यक्तिका छोराहरु ढल्ने रहेछन् भन्ने देखियो’ उनले भने, ‘तपाईंहरुले हात हल्लाएको देख्नु भयो नि!’
भण्डारीले विचारको नेतृत्व गर्नेहरु हलमा जम्मा भएको र आगामी दिनमा के हुन्छ र कसो हुन्छ भन्नेमा चिन्ता नलागेको बताए ।
निष्ठावान र विचारले जितेकोमा आफूलाई खुशी लागेको उनले बताए। पदको रंगमञ्चमा धेरै चिज नटिक्ने रहेछ भन्ने देखिएको उनले बताए । उनले आफूहरुको पनि कतिपय कमिकमजोरी भएको हुन सक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।