हेटौंडा- राजनीतिक दलहरुमा समावेशीको अभावबारे पटकपटक आवाज उठ्ने गरेको छ। केन्द्रदेखि तल्लो निकायसम्म दलहरुका संगठनमा महिला उपस्थिति न्यून रहेको देखिन्छ।
‘सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी’ भनेर आफूलाई अर्थ्याउने नेपाली कांग्रेसका संगठनहरुमा पनि महिला सहभागिता धेरै कम छ। कांग्रेसको केन्द्रिय समितिमा १७ जना महिला सदस्य छन्।
केन्द्रीय समितिभन्दा तल्लो निकाय जिल्ला सभापतिहरुमा पनि महिलाको प्रतिनिधित्व न्यून छ। ७७ जिल्लाका सभापतिहरुमध्ये महिला नेतृत्व भएका तीन जिल्ला मात्र छन्।
मुस्ताङमा याङजिङ विष्ट, ताप्लेजुङमा लीला बोखिम र बाँकेमा किरण कोइराला जिल्ला सभापति छन्। यो भनेको कुल सभापतिमा करिब ४ प्रतिशत मात्र हो।
हेटौंडामा जारी कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा आएका दुई जना महिला सभापतिले महिला भएकै कारण पार्टी र 8मा कठिनाइ भोगेको बताए। सभापतिहरुको भेलामा मुस्ताङ जिल्ला सभापति विष्टको उपस्थिति छैन।
संविधानसभाको दोस्रो चुनावमा टिकट पाएकी बोखिम १ सय ३९ मतले पराजित भएकी थिइन्। २०७४ को प्रदेशसभा निर्वाचनमा पनि उनले पराजय भोगिन्। बोखिमले टिकट पाए पनि कोइरालालाई भने पार्टी सभापतिले पत्याएनन्। राप्रपासँग चुनावी गठबन्धन गरेको कांग्रेसले निर्वाचनमा कोइरालाको बाँके क्षेत्र नम्बर २ मा राप्रपाका नेतालाई सघाएको थियो।
टिकट नपाएपछि कोइरालाले सभापतिसमक्ष गुनासो राखिन्। सरकारको नेतृत्व समेत गरिरहेका देउवाले जवाफ दिए, ‘तपाईँलाई टिकट दिए सरकार ढल्छ।’
त्यसबेला कुर्सी बचाउनकै लागि देउवाले आफूलाई टिकट नदिएको उनको दाबी छ।
‘कार्यकर्तामा असन्तुष्टि बढेको थियो, सघाएका उम्मेदवारले पनि जित्न सकेनन्’, उनले भनिन्। बाँके २ मा कांग्रेस–राप्रपा गठबन्धन पराजित भएको थियो।
२७ महिनाअघि भएको १३औं महाधिवेसनबाट बोखिम र कोइराला जिल्ला सभापति बनेका हुन्। महिला संघको तदर्थ समिति हुँदै जिल्ला समिति सदस्यमा पुगेकी बोखिम १३औं महाधिवेसनबाट सर्वसम्मतिमा जिल्ला सभापति बनेकी हुन्। बोखिमको भन्दा कोइरालाको राजनीतिक जीवन लामो छ।
विपी कोइरालाबाट प्रभावित भएर कांग्रेसमा लागेकी कोइराला जेठाजु सुशील कोइरालाको कारणले राजनीतिक ऊर्जा पाएको बताउँछिन्। २०२५ सालमा विपी जेलबाट छुटेपछि उनलाई भेट्न कोइराला बनारस पुगेकी थिइन्।
नेतृत्वप्रति तीव्र असन्तुष्टि
महिला सभापतिहरुका जिल्लामा पार्टीगत समस्या समान रहेका छन्। ताप्लेजुङ कांग्रेसलाई नेतृत्व गरिरहेकी बोखिम पार्टीको कामका लागि स्थानीय निकाय चहारिरहेकी छन्। जहाँ पुग्छिन्, केन्द्रीय नेतृत्वप्रति आम कार्यकर्ताको गुनासो सुनिरहेकी हुन्छिन्। बोखिमकै भनाइमा सही थाप्दै बाँके कांग्रेसकी सभापति कोइराला भन्छिन्, ‘जनता र कार्यकर्तामा निराशा छ।’
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणामपछि कार्यकर्तामा निराशा अत्यधिक बढेको दुवै सभापतिको धारणा छ। जिल्ला सभापतिहरुको भेलामा आउनु अगाडि चार स्थानीय तहका कार्यक्रममा पुगेकी बोखिम भन्छिन्, ‘केन्द्रले पार्टी ध्वस्त पारेको कार्यकर्ताको चिन्ता छ।’
कोइराला भने निर्वाचनको पराजयले भन्दा पनि पार्टीको गतिविधिबाट कार्यकर्ता चिन्तित भएको बताउँछिन्।
प्रशिक्षण, जागरण अभियान लगायत पार्टीका कार्यक्रम जनतामाझ पुग्न नसकेकोमा दुवैले नेतृत्वको आलोचना गरे।
‘सत्तापक्ष एकलौटी ढंगले चलिरहेको अवस्थामा त्यसको प्रतिवाद गर्ने संगठन नै छैन’ बोखिम भन्छिन्।
दुवै महिला सदस्यले जनताको बीचमा पुगेर आएपछिको निष्कर्ष सुनाए, ‘पार्टीको केन्द्रीय नेतृत्व फेर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।